2 अक्तूबर 2011

       गजल

                                            इन्द्रे पुन रुकुम

  गोर्खालीको बहादुरी ताज गलेको देखेनौं ।
स्वाभिमानी यो नेपाली शिर ढलेको देखेनौं।।


लड्छौं ब्यर्थ आपसमा म नै जान्ने हुँ भनी,
 आगो भित्र दन्दनी देश पो जलेको देखेनौं।


प्राणभुमीको  यो माटो कती हरायो लौ हेरौं,
 बैरीले हो आफ्नत बनेर छलेको देखेनौं।।


 सागरमाथामा तिरंगा फहराउन खोज्छ हो,
स्वाधिन्तामा  पो आँधी भेरी चलेको देखेनौं।।


समयले कोल्टे फेर्दा बीर कैले बिउँजेनौं,
रात पश्चात यत्रो सुरज बलेको देखेनौ।।


पौष २४-२०६७

15 सितंबर 2011


सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-९

तीन सल्लाह

छोरी,

धेरै लामो समयपछि सोच्दै नसोचेको ठाउँमा एउटा पुरानो साथीसँग भेट भयो तिमीलाई थाहा छ,  यस्तो भेटघाटमा छोराछोरीबारे आपसी सोधपुछले निकै महत्त्व पाउँछ । यस्तै सोधपुछका क्रममा उसले आफ्ना केही गुनासा पोखिसकेपछि अलिकति गम्भीर जस्तो भएर मलाई सोध्यो,  "छोराछोरीलाई कुनै तीन वटा ठोस सल्लाह दिनुपर्‍यो वा आग्रह गर्नुपर्‍यो भने तिमी के के भन्छौ?"
कुनै र्फमुलामा बाँधिन नचाहने र कुनै त्यस्तो सूत्र अनुसार चल्न नसक्ने म जस्तो मानिसका निम्ति उसको प्रश्नको उत्तर 'हाजिर-जवाफ' को शैलीमा दिन सम्भव थिएन । तर उसले भने मुसुमुसु हाँसेर आग्रह गरी नै रहृयो । त्यतिखेर, त्यो क्षणमा मेरो मनमा आएका तीन कुराहरू मैले आखिरमा भन्नै पर्‍यो । निकैबेरसम्म हामी त्यसबारे गफगाफ गरिरहृयौँ । आज म तिनै कुराहरू तिमीलाई लेखिरहेको छु ।
मैले जिन्दगीमा गर्नैपर्ने, गर्न सक्ने र गर्ने प्रशस्त अवसर पाएको, तर कहिल्यै पनि राम्रोसँग गर्न नसकेका कुराको ज्यादै लामो सूची छ । तीमध्ये, त्यो मेरो साथीसँग कुराकानीका क्रममा निस्केका तीन कुराहरू चाहिँ यी हुन्-

१. महाकालको पूजा जो मैले गर्न सकिनँ
२.बुद्धबाणीमा ध्यान जसमा म अडिरहन सकिनँ
३पार्थिव जीवनका कर्महरू जसलाई मैले राम्ररी सम्पादन गर्न सकिनँ
यिनै तीन कुराहरू हुन् जो मेरा छोराछोरीले, नयाँ पुस्ताले राम्रोसँग गरिदिएहुन्थ्यो जस्तो लाग्छ ।
महाकालको पूजा भनेको राजधानीको टुँडिखेलको छेउमा रहेको मन्दिरमा धाउनु मात्र हैन । घण्टा, मिनेट, सेकेण्ड वा वर्ष शताब्दी, सहस्राब्दी आदि युनिटमा टुक्रिएर महाकालले समयको रुप लिन्छ र त्यसले परिवर्तनको कहिल्यै नटुङ्गिने सिलसिला चलाइरहन्छ, दुनियाँ घुमाइरहन्छ । महाकालको पूजा गर्नुको अर्थ हो समयको सही व्यवस्थापन अर्थात् 'टाइम-म्यानेजमेन्ट' । मैले कहिल्यै पनि राम्ररी 'टाइम म्यानेजमेन्ट' गर्न सकिनँ । अब आफ्नो बाँकी आयुमा समयको त्यो व्यवस्थापन गर्न, महाकालको त्यो पूजा गर्न र श्रापमुक्त हुन चाहन्छु । मेरा छोराछोरीहरू, नयाँ पुस्ताका ती सबै प्याराप्यारा मानिसहरू महाकालको यो पूजालाई राम्रोसँग सम्पन्न गरिरहुन् भन्ने म चाहन्छु । यही हो मेरो कुरा नम्बर एक ।
अब बुद्धवाणीको कुरा ! हामीले साथीहरू, आमाबाबु, छोराछोरी वा अरू कसैसँग वा एक्लै भएको बेला आफैँसँग कुरा गर्दा बेलाबेलामा मनमा अति सुन्दर विचारहरू आउँछन् । कुनैबेला अनौठोसँग स्वीकारोक्ति हुन्छ- आफ्नै कमजोरी र सीमाहरूबारे । कुनै बेला नयाँ ज्ञानको बत्ती बलेजस्तो हुन्छ..., तर त्यो आफूभित्र रहँदैन- सलल्ल बगेर, चिप्लेर जान्छ, हावामा हराउँछ । हो कि हैन, भन त छोरी ! हाम्रो मनमा आउने त्यस्ता सबै सुन्दर र पवित्र विचारहरूलाई समातेर राख्न सके कति राम्रो हुँदो हो ! सामाजिक उत्तरदायित्वहरू पूरा गर्न चाहने, अरूलाई समेत शक्तिकृत हुन सघाउने मानिसले आफ्नै मनमा झल्याकझुलुक उदाउने असल कुरा वा विचारहरूलाई आफैँभित्र अलिबेर राख्न नसके, आफैँ नै त्यो बुद्धवाणीमा ध्यानमग्न हुन नसके अरूलाई कसरी त्यो वाणी सुनाउने - त्यसैले, मनमा आएका सबै राम्रा कुराहरूलाई टिपेर राख्ने, तिनलाई आफ्नो मार्ग-निर्देशकका रूपमा विकास गर्ने र मूर्त रूपमा कार्यान्वयन गर्नसके हुन्थ्यो जस्तो लाग्छ- म आफैँले पनि र नयाँ पुस्ताले पनि ।
पार्थिव शरीर हो हाम्रो । बाँच्नलाई विभिन्न गतिविधिमा लाग्नै पर्छ, अर्थात् कर्म त गर्नैपर्छ । कुनै पनि हिसाबले हिंसा, परपीडा नहुने गरी आफ्ना भौतिक जीवनका हरेक पक्षहरूको ख्याल राखेर नै बाँच्ने हो मानिसले । यसरी बाँच्दा विभिन्न पक्षहरूबीचको सन्तुलनको अत्यन्त ठूलो भूमिका रहन्छ । तर बेलाबेलामा आफूभित्रको अल्छीपन कहिले उदारता, कहिले आध्यात्मिकता, कहिले दया र कहिले केका रूपमा विभिन्न मुकुण्डो लगाएर देखापर्छ र जिन्दगीको सन्तुलन बिगार्छ । मेरो जीवनको ठूलो हिस्सा यही अल्छीपनले निलेको छ । मुक्त हुन चाहन्छु म आफैँ पनि त्यो अल्छीपनबाट । र, आफैँभित्रको अल्छीपन अनेक निहुँ पारेर देखापर्दा त्यसलाई चिन्न र त्यसको प्रतिकार गर्न सक्षम हुन सकून् नयाँ पुस्ताका मानिसहरू भन्ने कामना गर्छु बस, यिनै तीन कुराहरू आए मेरो मनमा- जब त्यो पुरानो साथीले मसँग प्रश्न गर्‍यो ।
केहीबेर फेरि यताउताका गफ गरेपछि आ-आफ्नो घर फर्किन हामी बिदा भयौँ । अलि पर पुगेपछि ऊ पनि म पनि फर्केर एकअर्कालाई हेर्‍यौँ । हाँस्दै ऊ मतिर आयो, म पनि उतिर बढेँ । उसले भन्यो, तिमीले भनेका तीन कुराहरूमा केही नपुगेजस्तो छ । के हो त्यो, भन त ।
वास्तवमा मलाई पनि त्यस्तै लागिरहेको थियो । तर कुम हल्लाएर "खै !" भन्दै हामी फेरि आ-आफ्नो बाटो लाग्यौँ । तर यतिखेर मलाई लाग्दैछ- हाम्रो गफगाफमा नपुगेको त्यो कुरा शायद जीवनको उद्देश्य, जीवनको 'मिसन' थियो । "म किन बाँचिरहेको छु, केका निम्ति बाँचिरहेको छु - जीवनको अन्त्यसम्ममा मैले सम्पन्न गर्नुपर्ने कुरा के हो - म पुग्नुपर्ने गन्तव्य के हो -" जस्ता प्रश्नहरूको उत्तरले नै हरेक व्यक्तिको आफ्नो मिसन परिभाषित गर्ने हो । जुन व्यक्ति आफ्नो जीवनको 'मिसन'बारे स्पष्ट छ, उसले आफ्नो जीवनरुपी यानलाई आफ्नो मर्जीले अघि बढाउन सक्छ । उसको मिसन ठीक थियो कि बेठीक थियो, त्यो त फेरि महाकालकै निर्णय इतिहासकै फैसला हो । तर पनि, जो मानिस महाकालको पूजा साँच्चै तनमनले गर्छ, जो बुद्धवाणीमा ध्यानस्थ हुनसक्छ, जो रमाईरमाई आफ्नो कर्म गर्छ, उसको मिसन, उसको गन्तव्य कसरी बेठीक हुन सक्ला र !

"यसपालि त बुबाले भाषणै दियो बा !" भनेर नभन है !

                                                                                      माया गर्ने बुबा

( साभारः  हिमाल खबर डट कम बाट )

21 अगस्त 2011

देशको लागि रुनु भा छ ?

( लेखक: बान व्हिइ मिन१५ बर्षिय बिद्यार्थी हानकुक बैदेशिक शिक्षा एकेडेमी,दक्षिण कोरिया )
( नेपालीमा अनुवाद: उज्वल थापा र बिजय सिवाकोटी )

नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाईले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक- अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ । सर्वप्रथम त म मेरो देश कोरियाको बारेमा केही भन्न चाहन्छु जसले गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न सजिलो हुन्छ । झण्डै साठी बर्ष अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख भन्दा बढी कोरियालीहरु मारिए र कोरिया बिश्वको सबैभन्दा गरिब मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन अवस्थामा गुज्रिरहेको थियो । त्यसमाथि सरकारी कर्मचारीहरु एक नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन- प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई दर्जामा बिभाजित थियौं याङबान (माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) । त्यति बेला कोरियालीहरु जापान, ताईवान, नेपाललाई हेरेर ईर्स्या गर्थे। हामी बाँच्नको लागि जे गर्ने पनि तयार थियौं । यस्तो कठोर समयमा कोरियालीहरुले अब हामी समृद्ध हुनुपर्छ भनेर समाजको यो विभाजनहरु त्यागेर देशलाई अग्रगांमी बिकास तर्फ धकेल्न
कोशिश गरे । जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए । त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानहरु। उनीहरुले कमाएर पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो। १९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे, त्यहाँका कोईलाखानीमा काम गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे, “हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“ उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए, “कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ” यसरी अमेरिकामा बसी आएका धेरै कोरियन वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर, “कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”। अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै काममा अगाडि लागिरहे। हरु उनीहरुले आफ्नोलागि मात्र होइन, देश आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु- आमाका जमानाका कोरियनहरु सबैले आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे । दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु आफ्नो बच्चालाई दुध खुवाउँदै कल- कारखानामा काम गर्थे । आफ्ना बच्चालाई कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ सिकाउँथे । यसैको ज्वलन्त परिणाम अहिलेको समृद्ध कोरिया हेर्नुहोस् । नेपाली हो, के तपाईंहरुले आफ्नो देशको लागि रुनुभएको छ ? मैले त सुनेको छु नेपाली युवाहरुमा देशप्रति माया नै छैन। मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट सधैँको लागि छोडेर जान चाहन्छन् किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन या यहाँको गरिबीबाट भाग्न चाहन्छन्, या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश कि आफै अगाडि लम्केर देशको सेवा गर्नु। मेरो एउटा सपना छ, म कुनै दिन पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी, भोकमरी, जड चलनबाट मुक्ति दिनेछु। नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर, मेरो यो बिश्वास झन बलियो बनेको छ। जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र स्कुल जाने अवसर पाउँदैन। जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा। यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल- बच्चाको हेरबिचार मात्र होइन, खेतमा दिनभरि काम गर्नु पर्छ जब कि उता उनका श्रीमान् चाहिँ केही नगरी चाहारेर हिंडछन्, यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक आफ्नो पेट पाल्न ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ । नेपालको बास्तबिकता हेर्दा त मलाई कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु धर्मावलम्बी हुनुहुन्छ । तर तपाईंका करोडौं भगवानहरुलाई जति पुजे पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु। नेपाल र तपाईंको भविश्य सुनिश्चित गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु नै हो । तपाईंले जसरी भगवानप्रति माया र भक्ति देखाउनु हुन्छ, त्यसरी नै आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस् अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र समृद्धिमा लाग्नुहुन्छ । त्यसैले बिन्ती गर्छु, आफ्नो देश र छिमेकीलाई माया गर्न थाल्नुहोस् । आफ्नो बच्चालाई देशको माया गर्न सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र आखिर ? तपाँई नै! यी बिशाल हिमालयको अन्तरआत्मालाई आदर गर्ने अनि विश्वकै एकमात्र किसिमको झण्डालाई बोक्ने को हुन्छ त आखिर ? तपाईंले नै बोक्नु पर्छ नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी। तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।
नेपालको जय होस्

18 मई 2011

पन्ध्र मिनेटको भावविभोरता र एउटा यक्षप्रश्‍नको उत्तर

डा. दीपक खडका/ न्यू जर्सी, सं. रा. अ.
चार वर्ष अगाडि एउटा कोरियाली किशोरले नेपालीलाई सम्बोधन गरेर लेखेको “के तिमी कहिल्यै देशको निम्ति रोएका छौ?” भन्ने लेख (‘द काठमान्डु पोस्ट’, सेप्टेम्बर १०, २००५) पढेपछि मेरो आफ्नै देशप्रेमप्रतिको विश्वास नराम्ररी डगमगाएको थियो । देशप्रेमै प्रतिको विश्‍वास त नभनौं, तर त्यस प्रेमको पर्याप्तता, गहिराई र सार्थकतामाथिको मेरो विश्‍वास भने उठ्यो भने हुन्छ ।
मैले म देशको लागि कहिले रोएँ भनेर सम्झन खोजें, तर अहँ कुनै अवसर पनि सम्झनामा आएन । म नरोएको भने होईन । तर मैले रोएको कि त कुनै व्यक्ति विशेषको दु:खमा कि त कुनै राजनैतिक आस्थाविशेषको निम्ति थियो । त्यसलाई देशप्रेमको नाम दिन नसकिने होईन । तर म व्यक्ति वा आस्थामा सीमित भएको माया होईन, समग्र देशलाई छपक्कै ढाकेको माया, त्यो पनि त्यो कोरीयाली ठिटोले बयान गरेको जस्तो आँसुले निथ्रुक्क भिजेको मायाको खोजीमा थिएँ ।

देश अर्थात् यसको हालत, यसको गरीबी र यसको पछौटेपनाले मुटु टुक्रा टुक्रा हुने गरी, यसको दूर्दशाले मुटुमा भक्कानो आउने गरी, यसको निरासलाग्दो भविष्य देखेर भाउन्न हुने गरी, छिमेकी देशहरु भन्दा पछाडि पछाडि पर्दै गएको देखी सासै फेर्न गाह्रो हुने सकसको साथ, दुनियाँमा हाम्रा बेईजतीपूर्ण परिचय बढ्दै गएर र हाम्रो ईज्जत कम हुन थालेको देखेपछि भयले शिताङ्ग र ईखले ज्वरो आउने गरी र आखिर दृढ मनसुबा र प्रतिज्ञाका आगोमा खहरिएको र हरेक सानो सफलता, हरेक असफलता, हरेक कोशिसलाई हर्ष र विस्मातको आँसुले भिजाईएको माया । हो, त्यस्तो माया ।
त्यस्तो माया पाईनँ मैले । न त ममा । न कुनै स्वजन नेपालीमा ।
त्यो कोरियाली ठिटोको त्यो प्रश्‍न, त्यो हाँक, त्यो मानमर्दन भने पनि, मार्गदर्शन भनेपनि, बेलाबेलामा मेरो सोचाईमा आईरहन्छ, र मलाई त्यसले हामी नेपालीलाई सामुहिक रुपमा अयोग्य जाती पो हौं कि भनेर झसंग झसंग पारिरहन्छ ।
म नेपालीहरु देशको लागि रोएको हेर्न र देशप्रेमको प्रमाण पाउन सदैव यताउति हेरिरहन्छु । तर अहिलेसम्म मैले पाएको भनेको एकअर्काप्रति अविश्‍वास र घृणा अनि त्यही अविश्‍वास र घृणामा बगेको आँसु हो । स्वजनप्रतिको हाम्रो घृणा कति धेरै छ भने छिमेकीले हाम्रो सिमाना मिच्यो भन्ने समाचारले रिस उठेको बेलामा पनि त्यो रिसले हामीमा एकताको पादुर्भाव गर्दैन, बरु त्यो रिस हामी — हाम्रो कस्तो बिजोग — आफ्नै कुनै विमतको स्वजनमा पोख्छौं र भन्छौ – तँ परचक्री प्रभुको दास होस् !
देशप्रेम खोजीको मेरो यात्रा हिउँको थुप्रोमा आगोको फिलिंगो खोजेको जस्तै भएर रहेको छ । त्यो गएको चार महिना अघि सम्मको कुरा भन्नुपर्‍यो ।
चार महिना अघि (जुलाई ३, २००९) सान फ्रान्सिस्कोमा भएको ‘एसोसियसन अफ नेपालीज ईन अमेरिकाज’ को सम्मेलनमा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को साहित्यिक सभामा एउटा किशोरले मेरो विश्‍वासमा परेको भ्वाङ टालिदिए । चमत्कारै भयो । हुन त त्यो पछि केही भत्कियो पुन: । त्यसको कथा छुट्टै छ । तर जतिञ्जेल त्यो रह्यो र जसरी त्यो रह्यो, मलाई लाग्यो, मैले खोजेको भेटें । मैले देशप्रेमको प्रमाण पाएँ ।
हो, त्यो देशको निम्ति बगेको आँसुको कथा थियो ।
भयो के भने, एक किशोर कविले यस्तो कविता सुनाए, देशको दूर्दशा र सम्भावित विघटनको बारे, त्यहा उपस्थित सबैलाई भावविभोर बनाईदिए । मेरो आँखामा पनि आँसु आयो । र मैले देखेका सबैको आँखा रसिला वा करीब करीब रसिला थिए । सामान्यतया अनियन्त्रित हल्लाखल्ला बिच चल्ने अमेरिकाको नेपाली कवितावाचन त्यो क्षण भने सियो खस्दा पनि सुनिने मौनता र अपूर्व एकाग्रता बिच अघि बढिरहेको थियो । भनें नि, पुरै कक्ष भावविभोर भएको थियो ।

म त चरम भावातिरेकमा थिएँ । कविताले भन्दा पनि त्यसको प्रभावको प्रभावले र खास गरेर चार वर्षदेखिको अनपेक्षित तर खोजी जारी रहेको कुरा भेटेकोमा । मेरो कोरियाली ठिटोको यक्षप्रश्‍नको उत्तर पाएकोमा ।
ती प्रतिभाशाली किशोरकविले शार्दूलविक्रीडित छन्दमा “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” भनेर विलौना गर्दा हामी सबै रोयौं । यो विशुद्ध देशकै, विशुद्ध मायाको, शुद्ध आँसुको एउटा शुद्ध क्षण थियो । यो कोरियाली यक्ष-प्रश्‍नको नेपाली उत्तर थियो ।
जब मेरो पाली आयो कवितावाचन गर्ने, मैले म त्यस क्षण के र कस्तो अनुभूति गरिरहेको छु भन्ने कुरा बताउदै ती किशोर कविप्रति एक विशेष सम्मान अभिव्यक्तिको हेतु र मैले तत्क्षण अनुभूति गरिरहेको अपूर्व आनन्दको निरन्तरतामा अझै रहिरहन भनेर क्षमायाचना सहित आफ्नो कविता नै नसुनाई हिडें ।
यस्तो भयो कि त्यो कसैलाई असहज लागेन । संगैका सहकविले भन्नुभयो, “बडो उचित प्रतिक्रिया !”
र यसरी सदर पाएपछि म त्यो अतिरेकलाई निरन्तर अनुभव गरिरहें, अन्य अनेक कविताहरुको वाचन बीचमा पनि, जबसम्म ती किशोर कविले फेरि एउटा बेग्लै कविता सुनाएनन् ।
*** *** ***
उनको दोश्रो कविता जसमा गाउँको कुनै भाग्यमानी सम्पन्न पात्रलाई खलनायकको रुपमा चित्रण गरिएको थियो — एउटा गोठालोको चित्रण गर्ने क्रममा — ले मलाई डंग्रैङ्गै पछारिदियो भुँईमा । मेरो अघिको भावातिरेकको एउटा खल्लो स्खलन अनुभव गरें मैले ।
कार्यक्रमको समापनपछि ती किशोर कविसंग संक्षिप्त कुराकानी गर्ने अवसर पाएँ । दोश्रो कविताको बारेमा जिज्ञासा राख्दा उनले जे शब्द उच्चारण गरे त्यो पर्याप्त थियो हामी कुन धरातलमा थियौं भन्ने स्पष्ट हुन । त्यो शब्द थियो – ‘वर्गसंघर्ष’ ।
त्यस अघि म उनीलाई दुनियाँलाई शोषक र शोषित वर्गमा विभाजित गरेर हेर्ने दृष्टि त्रुटीपूर्ण छ, त्यस्तो त्रुटीपूर्ण राजनीतिक दीक्षा लिनबाट र कसैको वैचारिक दास बनिहाल्नबाट जोगिनुहोस्, सोचलाई स्वतन्त्र राख्‍नुहोस्, तपाईको अगाडि सारा जीवन बाँकी छ दुनियाँलाई बुझ्न, आदि ईत्यादि मन्त्रणा गर्दै थिएँ ।
‘वर्गसंघर्ष’ लाई उनी यसरी उच्चारण गरिरहेका थिए, मानौ त्यो अन्तिम यथार्थ हो । मलाई कुरो बुझ्न समय लागेन ।
अनि अलिकति गम्भीर बहसै गर्नुपर्ने लाग्यो र मैले तत्काल जेजति सोच्न भ्याएँ त्यसैलाई उपयोग गर्दै भने, “हेर्नुस भाई, तपाईले जुन पात्रलाई — एउटा गाउँको गोठालो राख्‍न सक्ने सम्म हैसियतको ठालुलाई — खलनायक र समस्याको जड जस्तो देखाउनुभयो नि, त्यसलाई अलि फराकिलो दृष्टिले हेर्नुस्त । त्यो ठालु कुनै अफिसको खरदार होला । त्यहाँ त उ शोषित भयो । र उसको हाकिम चाही शोषक । फेरि त्यो हाकिम उ माथिको हाकिमको हिसाबले शोषित भयो । त्यहाँ भन्दा पनि माथि अवलोकन गर्दै जानुभयो भने अर्को शोषक देखिन्छ र अघिको शोषक चाहि शोषित हुनपुग्छ । बुझ्नुभयो ?”
यसपछि भने उनमा केही अलमल उत्पन्न भएको आभास भयो मलाई र म चाही मेरो काम सकिएको अनुभव गरी उनलाई निरन्तर साहित्य सिर्जनाको लागि शुभकामना दिएर हिंडें ।
यो मिश्रित घटना र अनुभवको वावजुद उनको “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” कविता त्यस सभाकक्षमा, अनि हाम्रो हृदयमा र आँतमा गुन्जिरहेको अवधीभर, हामीभित्र केही उम्लिन थालेको अनुभव भईरहँदा, हाम्रो आँखा रसाईरहेको पवित्र क्षणमा र कक्षमा हामी सबलाई आपसको न्यानो मौन स्पर्श र जोडाईमा बाँधिदिने मौनता छाईरहुञ्जेल म हामी नेपाली भएकोमा अपूर्व शान्ति र आनन्द अनुभव गरिरहेको थिएँ, र एउटा कोरीयाली किशोरले डगमगाईदिएको विश्‍वासलाई अर्को नेपाली किशोरको सिर्जन सामाग्रीले मर्मत गर्दै थिएँ ।
यो मर्मत अपूर्ण छ । यो एक खेप र अलिकता मात्र हुन सकेको छ । तर कसोकसो मलाई भय र आसा दुबै एकै चोटी लाग्न थालेको छ, सम्भवत: एक भीषण दु:ख पछि हामी देशलाई माया गर्न थाल्नेछौं, देशको निम्ति रुन जान्नेछौं । सम्पर्क: deepakkhadka@gmail.com
(साभार- माई संसार डट.कम.बाट)

30 अप्रैल 2011

महान समय

नभन हार्छ,   महान समय ।
वैलाई झार्छ, महान समय।।

जजस्ले सोच्छ,खेलौना जीबन
बिचल्ली पार्छ, महान समय।

उद्यस्य बिना,जो पनी जिउँछ,
कुल्चेर छार्छ, महान समय।

कुर्नेले भाग्य, नरोपी पसिना,
ज्यूदोनै मार्छ, महान समय।

चिन्नेलै तर,प्रत्यक यो क्षण,
मोटी झै खार्छ,महान समय।।