18 मई 2011

पन्ध्र मिनेटको भावविभोरता र एउटा यक्षप्रश्‍नको उत्तर

डा. दीपक खडका/ न्यू जर्सी, सं. रा. अ.
चार वर्ष अगाडि एउटा कोरियाली किशोरले नेपालीलाई सम्बोधन गरेर लेखेको “के तिमी कहिल्यै देशको निम्ति रोएका छौ?” भन्ने लेख (‘द काठमान्डु पोस्ट’, सेप्टेम्बर १०, २००५) पढेपछि मेरो आफ्नै देशप्रेमप्रतिको विश्वास नराम्ररी डगमगाएको थियो । देशप्रेमै प्रतिको विश्‍वास त नभनौं, तर त्यस प्रेमको पर्याप्तता, गहिराई र सार्थकतामाथिको मेरो विश्‍वास भने उठ्यो भने हुन्छ ।
मैले म देशको लागि कहिले रोएँ भनेर सम्झन खोजें, तर अहँ कुनै अवसर पनि सम्झनामा आएन । म नरोएको भने होईन । तर मैले रोएको कि त कुनै व्यक्ति विशेषको दु:खमा कि त कुनै राजनैतिक आस्थाविशेषको निम्ति थियो । त्यसलाई देशप्रेमको नाम दिन नसकिने होईन । तर म व्यक्ति वा आस्थामा सीमित भएको माया होईन, समग्र देशलाई छपक्कै ढाकेको माया, त्यो पनि त्यो कोरीयाली ठिटोले बयान गरेको जस्तो आँसुले निथ्रुक्क भिजेको मायाको खोजीमा थिएँ ।

देश अर्थात् यसको हालत, यसको गरीबी र यसको पछौटेपनाले मुटु टुक्रा टुक्रा हुने गरी, यसको दूर्दशाले मुटुमा भक्कानो आउने गरी, यसको निरासलाग्दो भविष्य देखेर भाउन्न हुने गरी, छिमेकी देशहरु भन्दा पछाडि पछाडि पर्दै गएको देखी सासै फेर्न गाह्रो हुने सकसको साथ, दुनियाँमा हाम्रा बेईजतीपूर्ण परिचय बढ्दै गएर र हाम्रो ईज्जत कम हुन थालेको देखेपछि भयले शिताङ्ग र ईखले ज्वरो आउने गरी र आखिर दृढ मनसुबा र प्रतिज्ञाका आगोमा खहरिएको र हरेक सानो सफलता, हरेक असफलता, हरेक कोशिसलाई हर्ष र विस्मातको आँसुले भिजाईएको माया । हो, त्यस्तो माया ।
त्यस्तो माया पाईनँ मैले । न त ममा । न कुनै स्वजन नेपालीमा ।
त्यो कोरियाली ठिटोको त्यो प्रश्‍न, त्यो हाँक, त्यो मानमर्दन भने पनि, मार्गदर्शन भनेपनि, बेलाबेलामा मेरो सोचाईमा आईरहन्छ, र मलाई त्यसले हामी नेपालीलाई सामुहिक रुपमा अयोग्य जाती पो हौं कि भनेर झसंग झसंग पारिरहन्छ ।
म नेपालीहरु देशको लागि रोएको हेर्न र देशप्रेमको प्रमाण पाउन सदैव यताउति हेरिरहन्छु । तर अहिलेसम्म मैले पाएको भनेको एकअर्काप्रति अविश्‍वास र घृणा अनि त्यही अविश्‍वास र घृणामा बगेको आँसु हो । स्वजनप्रतिको हाम्रो घृणा कति धेरै छ भने छिमेकीले हाम्रो सिमाना मिच्यो भन्ने समाचारले रिस उठेको बेलामा पनि त्यो रिसले हामीमा एकताको पादुर्भाव गर्दैन, बरु त्यो रिस हामी — हाम्रो कस्तो बिजोग — आफ्नै कुनै विमतको स्वजनमा पोख्छौं र भन्छौ – तँ परचक्री प्रभुको दास होस् !
देशप्रेम खोजीको मेरो यात्रा हिउँको थुप्रोमा आगोको फिलिंगो खोजेको जस्तै भएर रहेको छ । त्यो गएको चार महिना अघि सम्मको कुरा भन्नुपर्‍यो ।
चार महिना अघि (जुलाई ३, २००९) सान फ्रान्सिस्कोमा भएको ‘एसोसियसन अफ नेपालीज ईन अमेरिकाज’ को सम्मेलनमा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को साहित्यिक सभामा एउटा किशोरले मेरो विश्‍वासमा परेको भ्वाङ टालिदिए । चमत्कारै भयो । हुन त त्यो पछि केही भत्कियो पुन: । त्यसको कथा छुट्टै छ । तर जतिञ्जेल त्यो रह्यो र जसरी त्यो रह्यो, मलाई लाग्यो, मैले खोजेको भेटें । मैले देशप्रेमको प्रमाण पाएँ ।
हो, त्यो देशको निम्ति बगेको आँसुको कथा थियो ।
भयो के भने, एक किशोर कविले यस्तो कविता सुनाए, देशको दूर्दशा र सम्भावित विघटनको बारे, त्यहा उपस्थित सबैलाई भावविभोर बनाईदिए । मेरो आँखामा पनि आँसु आयो । र मैले देखेका सबैको आँखा रसिला वा करीब करीब रसिला थिए । सामान्यतया अनियन्त्रित हल्लाखल्ला बिच चल्ने अमेरिकाको नेपाली कवितावाचन त्यो क्षण भने सियो खस्दा पनि सुनिने मौनता र अपूर्व एकाग्रता बिच अघि बढिरहेको थियो । भनें नि, पुरै कक्ष भावविभोर भएको थियो ।

म त चरम भावातिरेकमा थिएँ । कविताले भन्दा पनि त्यसको प्रभावको प्रभावले र खास गरेर चार वर्षदेखिको अनपेक्षित तर खोजी जारी रहेको कुरा भेटेकोमा । मेरो कोरियाली ठिटोको यक्षप्रश्‍नको उत्तर पाएकोमा ।
ती प्रतिभाशाली किशोरकविले शार्दूलविक्रीडित छन्दमा “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” भनेर विलौना गर्दा हामी सबै रोयौं । यो विशुद्ध देशकै, विशुद्ध मायाको, शुद्ध आँसुको एउटा शुद्ध क्षण थियो । यो कोरियाली यक्ष-प्रश्‍नको नेपाली उत्तर थियो ।
जब मेरो पाली आयो कवितावाचन गर्ने, मैले म त्यस क्षण के र कस्तो अनुभूति गरिरहेको छु भन्ने कुरा बताउदै ती किशोर कविप्रति एक विशेष सम्मान अभिव्यक्तिको हेतु र मैले तत्क्षण अनुभूति गरिरहेको अपूर्व आनन्दको निरन्तरतामा अझै रहिरहन भनेर क्षमायाचना सहित आफ्नो कविता नै नसुनाई हिडें ।
यस्तो भयो कि त्यो कसैलाई असहज लागेन । संगैका सहकविले भन्नुभयो, “बडो उचित प्रतिक्रिया !”
र यसरी सदर पाएपछि म त्यो अतिरेकलाई निरन्तर अनुभव गरिरहें, अन्य अनेक कविताहरुको वाचन बीचमा पनि, जबसम्म ती किशोर कविले फेरि एउटा बेग्लै कविता सुनाएनन् ।
*** *** ***
उनको दोश्रो कविता जसमा गाउँको कुनै भाग्यमानी सम्पन्न पात्रलाई खलनायकको रुपमा चित्रण गरिएको थियो — एउटा गोठालोको चित्रण गर्ने क्रममा — ले मलाई डंग्रैङ्गै पछारिदियो भुँईमा । मेरो अघिको भावातिरेकको एउटा खल्लो स्खलन अनुभव गरें मैले ।
कार्यक्रमको समापनपछि ती किशोर कविसंग संक्षिप्त कुराकानी गर्ने अवसर पाएँ । दोश्रो कविताको बारेमा जिज्ञासा राख्दा उनले जे शब्द उच्चारण गरे त्यो पर्याप्त थियो हामी कुन धरातलमा थियौं भन्ने स्पष्ट हुन । त्यो शब्द थियो – ‘वर्गसंघर्ष’ ।
त्यस अघि म उनीलाई दुनियाँलाई शोषक र शोषित वर्गमा विभाजित गरेर हेर्ने दृष्टि त्रुटीपूर्ण छ, त्यस्तो त्रुटीपूर्ण राजनीतिक दीक्षा लिनबाट र कसैको वैचारिक दास बनिहाल्नबाट जोगिनुहोस्, सोचलाई स्वतन्त्र राख्‍नुहोस्, तपाईको अगाडि सारा जीवन बाँकी छ दुनियाँलाई बुझ्न, आदि ईत्यादि मन्त्रणा गर्दै थिएँ ।
‘वर्गसंघर्ष’ लाई उनी यसरी उच्चारण गरिरहेका थिए, मानौ त्यो अन्तिम यथार्थ हो । मलाई कुरो बुझ्न समय लागेन ।
अनि अलिकति गम्भीर बहसै गर्नुपर्ने लाग्यो र मैले तत्काल जेजति सोच्न भ्याएँ त्यसैलाई उपयोग गर्दै भने, “हेर्नुस भाई, तपाईले जुन पात्रलाई — एउटा गाउँको गोठालो राख्‍न सक्ने सम्म हैसियतको ठालुलाई — खलनायक र समस्याको जड जस्तो देखाउनुभयो नि, त्यसलाई अलि फराकिलो दृष्टिले हेर्नुस्त । त्यो ठालु कुनै अफिसको खरदार होला । त्यहाँ त उ शोषित भयो । र उसको हाकिम चाही शोषक । फेरि त्यो हाकिम उ माथिको हाकिमको हिसाबले शोषित भयो । त्यहाँ भन्दा पनि माथि अवलोकन गर्दै जानुभयो भने अर्को शोषक देखिन्छ र अघिको शोषक चाहि शोषित हुनपुग्छ । बुझ्नुभयो ?”
यसपछि भने उनमा केही अलमल उत्पन्न भएको आभास भयो मलाई र म चाही मेरो काम सकिएको अनुभव गरी उनलाई निरन्तर साहित्य सिर्जनाको लागि शुभकामना दिएर हिंडें ।
यो मिश्रित घटना र अनुभवको वावजुद उनको “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” कविता त्यस सभाकक्षमा, अनि हाम्रो हृदयमा र आँतमा गुन्जिरहेको अवधीभर, हामीभित्र केही उम्लिन थालेको अनुभव भईरहँदा, हाम्रो आँखा रसाईरहेको पवित्र क्षणमा र कक्षमा हामी सबलाई आपसको न्यानो मौन स्पर्श र जोडाईमा बाँधिदिने मौनता छाईरहुञ्जेल म हामी नेपाली भएकोमा अपूर्व शान्ति र आनन्द अनुभव गरिरहेको थिएँ, र एउटा कोरीयाली किशोरले डगमगाईदिएको विश्‍वासलाई अर्को नेपाली किशोरको सिर्जन सामाग्रीले मर्मत गर्दै थिएँ ।
यो मर्मत अपूर्ण छ । यो एक खेप र अलिकता मात्र हुन सकेको छ । तर कसोकसो मलाई भय र आसा दुबै एकै चोटी लाग्न थालेको छ, सम्भवत: एक भीषण दु:ख पछि हामी देशलाई माया गर्न थाल्नेछौं, देशको निम्ति रुन जान्नेछौं । सम्पर्क: deepakkhadka@gmail.com
(साभार- माई संसार डट.कम.बाट)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें