31 अगस्त 2012

के नेपालका शाह वंशीय राजाका सन्तानहरु “मगर” हुन?

के नेपालका शाह वंशीय राजाका सन्तानहरु “मगर” हुन?

 तलको लेख एक पटक पढ्नुहोस।

कुनै व्यक्तिलाई त्यो कुन समुदायको हो र कुन जातिको हो भन्ने कुरा उसको संस्कार-सांस्कृतिक र परम्परागत कुराहरुको अध्ययन गर्नु जरुरी ठहरिन्छ। भाषा र धर्म भन्ने कुरा एक पुस्ताबाट अर्को पुस्ता सम्म आइपुग्दा अभिवावकले सिकाई दिएन भने स्वत: लोप भएर जान्छ। तर परम्पतागत र सांस्कृतिक पक्ष भने पुस्तौ सम्म पनि लोप हुन गाह्रो पर्छ। मूल रुपमा भन्नु पर्दा कुनै पनि व्यक्ति वा वँशजको जातीय पहिचानको आधार सांस्कृतिक र संस्कार पक्ष नै हुन्छ। राजाका पुर्खा कुन जातिका थिए भन्ने ऐतिहासिक प्रमाणहरुले पनि स्पष्ट नै पारेको छ र यता सांस्कृतिक तथ्यलाई हेर्ने हो भने पनि त्यो झन घाम जस्तै छर्लङ्ग छ।

१) शाहहरुको कुलायन कुलदेवी स्याङ्जाको लसर्घाको “आलमदेवी” हुन। त्यहाँका पुजारी “राना मगर” हरु नै छन। यदि राजा हिन्दु वा राजपुत भएको भए, उसको कुलदेउताको पुजाआजा गर्ने व्यक्ति कहिले पनि “मगर” हुने थिएनन। जाबो केही वर्ष अघि “जनै” लगाएर नक्कली “क्षेत्री” बन्ने केही मगरहरुले त आफ्नै बन्धुहरुले दिएको नखाने कहलिन्छन भने राजा राजपुत भए, राजखलकको पुजारी त्यस माथि पनि “कुल पुजारी” मगर कसरी भए त?

२) नारायणहिटी दरबारमा सरकारी (राजकीय पुजारी बडा गुरुजी) ब्रह्माणहरु भए पनि परम्परागत कूल पुजारी त मगर नै छन, किन?

३) अहिले पनि राजकुलले कलंकीमा गर्ने कूल पुजामा “कालो सुँगुर” को बली चढाई पूजा गर्ने गर्दछन। यदि राजा हिन्दु एवं राजपुत भएको भए कहिल्यै सुँगुर पुजामा चढाउने थिएनन्। अर्को याद राख्नु पर्ने कुरा के छ भने भारतका कुन राजपुतले आफ्नो कुलायनको पुजामा “मगर” पुजारी बोलाउदो रहेछ? र, कुन राजपुतले सुँगुरले पुज्दो रहेछ? जुन ताजपुतको ब्राह्माणहरुले कुरा गर्ने गर्दछन्, ति राजपुतहरुले सुँगुर त के बँदेल पनि खाँदैनन्। सुंगुर नै नखाने कुलायनले सुँगुर नै खोज्छ भन्ने कुरा पनि कहिं सत्य हुन्छ?

४) शाहवँशका पहिलो व्यक्ति अर्थात भूपालले मगरकी छोरी नै बिहे गरेका थिए। त्यस्तै पृथ्वी नारायण शाहकी बज्यै पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी आमा पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी श्रीमती पनि मगरकी छोरी नै थिइन्। उतिखेरको कट्टर हिन्दु आर्य समाजमा एक हिन्दु आर्य-क्षेत्रीले मतवालीको छोरी मागी बिबाह गर्नु असम्भवको कुरा हो। यदि हिन्दु-आर्य राजा भए, मगरकी छोरी बिहे गर्नु सम्भवको कुरा हो र?

पृथ्वी नारायण शाह एवं दलमर्दन शाहकी आमा कौशल्यावती पाल्पाका राजा गन्धर्व सेनकी छोरी थिइन्। यति मात्रै होइन, पृथ्वी नारायण शाहले पनि मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनलाई बिबाह गरेका थिए।

५) मामाकी छोरी बिहे गर्ने र हकै लाग्ने मगरहरुमा हुने गर्दछ र यही चलन ठकुरीमा पनि हुने गर्दछ। यदि शाहहरु हिन्दु राजपुतको भए, कहिल्यै मामाको छोरी बिहे गर्ने थिएनन्। किन भने हिन्दु क्षेत्रीहरुको चलनचल्ति अनुसार मामाकी छोरी बहिनी पर्ने गर्छ र राजस्थानका कुन राजपुत घरनियाले मामाकी छोरी बिहे गर्ने गर्दो रहेछ? कुन हिन्दु क्षेत्रीले मामाको छोरीलाई साली भन्दो रहेछ?


६) मकवानपुरे राजाले छोरी दिन नमाने पछि पृथ्वी नारायण शाहले बनारस गई १०८ ब्राह्माणहरुलाई भोज खुवाएर जनै धारण गरेर, गोत्र नै फेरेर ‘वशिष्ट’ गोत्र भिरेर आएका थिए। राजखलक हिन्दु आर्य-क्षेत्री भइदिएको भए गोत्र नै फेर्नु पर्ने आवस्यकता नै के थियो र?

७) बि.सं. १९५१ मा शाहहरुको असली वंशावली जलेको कुरा “Eden Vancittart” ले आफ्नो पुस्तक “The Gurkha” मा उल्लेख गरेकाछन् र हुन सक्छ त्यसपछि ब्राह्माणहरुले नक्कली वंशावली तयार पारे कि? किनभने शाहहरुको वंशावलीमा उल्लेखित वंशजका नामहरु भारतीय इतिहासमा कुनै पाइएको छैन र उल्लेख गरिएको पनि छैन।

८) पृथ्वी नारायण शाहका छोरा बहादुर शाहका पालामा आएका Karkpatric ले यिनका भदैयाहरु अझ पनि मगर रितिरिवाजमा छन् भनेर लेखेका छन्। यसले स्पष्ट पार्छ कि, राजखलकका वंशहरु कुन जातिका हुन भनेर। F.B. Hamilton ले पनि मगरकै सन्तान हुन् अहिलेका राजाहरु भनी लेखेकाछन् र यि सवै कुराहरुको प्रत्यक्षदर्शी पनि थिए दुवै बिद्वानहरु।

९) प्रसिद्ध विद्वान एम.एस. थापा मगर त राजाका पुर्खाहरु स्याङ्जाको लसर्घा एवं कारिकोट कै मगरहरु हुनु पर्छ भनी बताउँछन्।

१०) त्यस्तै डा. हर्ष बहादुर बुढा मगर आफू राजदरबारमा कार्यरत रहँदा राजा महेन्द्रका स्व. राजगुरु अम्विका प्रसाद शर्मा सँग बर्तमान राजाका पुर्खाहरु ‘मगर’ होइनन् र? भनी प्रश्न गर्दा १५ दिनको समय मागि १५ दिन पछि राजाका पुर्खा ‘मगर’ वंशज कै हुन् तर यसमा यसमा मेरो नाम नमुछ्नु होला भनेर डा. हर्ष बहादुर बुढा मगरलाई भनेका थिए।

नोट: यो “मुसाहाङ झेडी मगर” द्वारा लिखित लेख र मेजन पुन द्वारा सम्पादित “फिमला सँगालो” बाट साभार गरिएको हो।

कम्प्युटर रिटाइप: देवेन्द्र पुन, काफलडाँडा, म्याग्दी