22 फ़रवरी 2014

प्लेटको टुक्रा : बेट्टी बी योङ्स


प्लेटको टुक्रा : बेट्टी बी योङ्स
घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन चिनियाँ माटोले बनेका चिल्ला एवं राम्रा बुट्टा भएका रहरलाग्दा भाँडामा नै खाना खाइन्थ्यो। यसैमा अभ्यस्त मलाई डाइनिङ टेबलमा रहरलाग्दा चिनियाँ भाँडा सजाउनु नयाँ कुरा लाग्दैनथ्यो।
एक साँझ म टेबलमा तिनै रंगीन प्लेट सजाउँदै थिएँ। आमा पकाउन व्यस्त हुनुहुन्थ्यो। यत्तिकैमा छिमेकी काकी आइपुगिन्। सजाइएका   प्लेटहरू देखेर काकीले भनिन्-आज पाहुना आउने दिन हो कि क्या हो ? म कतै गलत समयमा त आइन ?’ ‘के-को गलत समय हुनु नि ! हामीले कसैलाई खाने निम्तो दिएका छैनौं’, खाना पकाउँदै आमाको उत्तर थियो।
अनि किन यति राम्रा प्लेट निकालेको त ?’ छिमेकी काकीको जिज्ञासापछिको भनाइ थियो-म त यस्ता प्लेट वर्षमा एक-दुई दिन मात्र निकाल्छु।’ ‘म त सधैं निकाल्छु’, छोटो उत्तरसँगै मेरी आमाले पुनः थप्नुभयो-यदि विशेष पाहुना आउँदा मात्र टेबललाई राम्रोसँग सजाउने र राम्रा प्लेटमा खानेकुरा दिने हो भनेे मेरा लागि परिवारका सदस्यहरू विशेष होइनन् र ? मेरा लागि श्रीमान् र छोराछोरी पाहुनाजत्तिकै महत्वपूर्ण छन्। त्यसैले म हरेक दिन राम्रा प्लेटमा खाना पस्किन्छु।
त्यो त ठीक छ, तर यसो गर्दा यी महँगा र राम्रा प्लेट-बटुका फुट्ने डर हुन्छ नि’, छिमेकी काकीले अझैं पनि आमाले भन्न खोजेको कुरोको चुरो बुझ्न सकेकी थिइनन्। आमाले भन्नुभयो-गाँठी कुरा के भने, यी महँगा भाँडा फुट्नु कुनै ठूलो कुरा होइन। यति महँगो प्लेट फुट्यो भनिएला तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा डिनर टेबलमा यी सुन्दर भाँडाका साथ हरेक साँझ अविस्मरणीय तरिकाले खाना खानु नै हो।त्यसपछि आमाले जे भन्नुभयो, त्यो मेरा लागि निकै कौतूहलको कुरा थियो। उहाँले भन्नुभयो-जब यी भाँडा फुट्छन्, त्यो फुटाइसँगै यिनले एउटा कथा बोक्छन्।आमाले छिमेकी काकीलाई यसरी हेर्नुभयो, मानौं दुई सन्तानकी आमा ती काकीलाई त यी सामान्य कुरा थाहा हुनुपर्ने हो।
आमा प्लेट राखिएको र्‍याकतिर लाग्नुभयो र एउटा प्लेट निकाल्नुभयो। त्यसलाई देखाउँदै उहाँले भन्नुभयो-यो प्लेटको एउटा टुक्रा छैन नि, होइन ? म १७ वर्षकी हुँदा यो प्लेट फुटेको थियो। अहिलेसम्म मैले यसलाई राखेकी छु। किन थाहा छ ? किनभने, यो प्लेटले मेरो जीवनमा महत्वपूर्ण मोड ल्याइदियो। यो त्यतिबेलाको कुरा हो, जब हाम्रो घरमा मेरा दाइहरूका एक साथी आइपुगेका थिए। हाम्रो घरमा केही काम थियो र उनी हामीलाई सघाउन आएका थिए। ती युवक हेर्दै राम्रा र आकर्षक थिए। त्यो दिन मैले लुकीछिपी उनलाई मात्र  हेरिरहें।त्यसपछि आमाले चोइटो उछिट्टएिको त्यो प्लेटलाई विस्तारै सुम्सुम्याउनुभयो।
दाइहरूले ती साथीलाई खाना खाएर जान अनुरोध गर्नुभयो। खाना खाने बेलामा ठूल्दाइले मलाई ती युवकसँगै बसाउनुभयो। तिमीहरू त्यो बेला मलाई कति लाज लाग्यो होला भन्ने कल्पना पनि गर्न सक्दैनौ। मेरो मुटु मुखबाट फुत्त निस्केलाझैँ भएको थियो। घरिघरि म छड्के आँखाले उनको गतिविधि नियाल्थें। उनी मलाई नै हेरिरहेका हुन्थे, मानौं उनी मलाई अहिल्यै चपाएर निल्न चाहन्छन्। यस्तो अवस्थामा मेरो बोली पूरै बन्द भएको थियो। म एकटकले टेबलमा आँखा गाडिरहेकी थिएँ।
आफ्नो प्रेमकथा छिमेकी र छोरीलाई पो सुनाइरहेकी छु भन्ने महसुस गरेर होला, उहाँले तुरुन्त कथालाई टुङ्ग्याउने विचार गर्नुभयो। उहाँले थप्नुभयो-ती युवकले मलाई एउटा प्लेट थमाउँदै खाना दिन आग्रह गरे। मैले आफ्नो अगाडि अचानक आएको प्लेटलाई लिने कि नलिने भन्ने दोधारमा हात थापें। डर, लाज र अनेक आशङ्काले म पसिना-पसिना भएकी थिएँ। मेरो हात पनि पसिनाले निथु्रक्क भएको थियो। त्यसै त मेरो हातमा बढी पसिना आउने, त्यसमाथि यस्तो अवस्था ! ती युवकले त्यो प्लेट छोडे र मैले थापें। पसिनाका कारण प्लेट चिप्लियो अनि टेबलमा भएको एउटा भाँडोसँग ठक्कर खाँदै टेबलमाथि बजि्रयो। धन्न केही भएन, मात्र एउटा चोइटो उछिट्टयिो !
छिमेकी काकीलाई यो कथाले पटक्कै छोएन। उनले भनिन्-हेर्नुहोस् दिदी, कहिलेकाहीँ यस्तो हुन्छ। यस्ता कुरालाई सधैं मनमा राख्नुहुँदैन। म त यस्ता कुरालाई  तुरुन्तै बिर्सिदिनुपर्छ भन्छु।
आमाले भन्नुभयो-उक्त घटनाको एक वर्षपछि मैले विवाह गरें। जसबाट म एकदिनमै त्यति धेरै प्रभावित भएकी थिएँ, उनैसँग मेरो लगन जुरेको थियो। अझै पनि जब म यो प्लेट देख्छु, त्यो दिनको झल्झली सम्झना आउँछ।आमाले मलाई त्यो प्लेट अघि निकालेकै ठाउँमा राख्न लगाउनुभयो। मैले यो कथा पहिलो पटक सुनेकी थिएँ। म वाल्ल परेर उहाँलाई हेरिरहेकी थिएँ। उहाँले मलाई हेर्दै आँखा झिम्क्याउनुभयो।
छिमेकी काकीको अनुहार पढ्न खप्पिस मेरी आमालाई थाहा थियो, काकीले यो कथाको अर्थ बुझिनन्। त्यसैले उहाँले अर्को प्लेट पनि झिक्नुभयो। त्यो प्लेट देख्दा गरिबले लगाउने ठाउँ-ठाउँमा टालेकोे लुगाको सम्झना आउँथ्यो। धेरै टुक्रा जोडिएको प्लेट देखाउँदै आमाले भन्नुभयो-यो प्लेट ठूली छोरीले फुटाई। बिचरा, उसले जानेर पनि होइन। तीन छोरीपछि पहिलो पटक छोरा जन्मिएको थियो र म अस्पतालबाट पहिलो पटक घर आउँदै थिएँ। त्यो दिन निकै जाडो थियो। मलाई सहयोग गर्न ६ वषर्ीया ठूली छोरी आइपुगेकी थिई।  प्लेटलाई मैले अह्राए जसरी राख्ने प्रयास गर्दा झर्‍यो। यो प्लेटका अनेक टुक्रा भए। यति महँगो प्लेट फुट्दा मलाई दुःख त लाग्यो, तर छोरालाई लिएर घर आएको खुसीमा मैले जाबो प्लेट फुट्यो भनेर चिन्तित हुनुको कुनै तुक देखिन। अनि, पछि जब फुटेको प्लेटलाई हामी सबै परिवार मिलेर जोड्यौँ- मैले त्यो दिनको रमाइलो मैले अझसम्म भुलेकी छैन।
अब मलाई विश्वास भयो। मेरी आमा प्लेट र बटुकाका कुरा गरेर अरूलाई दिनभर रिँगाउन सक्नुहुन्छ। उहाँ यस्ता अरू दर्जनौं कथा सुनाउन सक्नुहुन्छ। ती कथा झेल्न नसकेर काकी टाप कसिन्। कयौँ दिन बिते। मैले आमाको घटना सुनाउने शैलीका कारण ती फुटेका प्लेटहरूको कुरा बिर्सन सकिनँ।  खासगरी त्यो प्लेटका बारेमा, जसबाट मेरा बाबा र आमाको प्रेमकथा सुरु भएको थियो।
एकदिन आमा किनमेलका लागि बजार जानुभयो। यस्तो बेलामा स्वाभाविक ढङ्गले भाइबहिनीहरूको रेखदेखको जिम्मा मैले नै लिनुपर्छ तर यतिबेला जिम्मेवारीको कामभन्दा पनि आफ्नो रुचिको काम गरिन्छ। सोहीअनुसार म पनि पहिलो दस मिनेट आमा-बाबाको कोठामा गएँ। हामीलाई उक्त कोठामा पस्न निषेध थियो। यसअघि पनि म आमा-बाबाको कोठामा सुटुक्क छिरेकी थिएँ। मलाई त्यहाँ के-के सामान राखिएका छन्, एक-एक थाहा थियो। म उहाँहरूको ओछ्यानमा उक्लिएँ र ओछ्यान नजिकको दराजमाथि रहेको एउटा सानो बाकस झिकें। बाकसमा केही गहना थिए। ती गहना मलाई साह्रै मन पर्थे। त्यसैले आमा नभएको बेला म ती गहना लगाउँथें। यसपटक पनि मैले त्यो काम दोहोर्‍याएँ। त्यहाँ हिसिला आन्टीले दिनुभएको रातो माणिकको औँठी थियो। मोतीका कोमल झुम्काहरू थिए। यी झुम्का मेरा मावली हजुरबाले हजुरआमाका लागि भनेर किनिदिनुभएको थियो। अहिले ती झुम्का आमासँग थिए अनि अर्को एउटा औंठी पनि थियो। एउटा औंठी आमाको विवाहको थियो।
मैले सबै गहना लगाएर आफू कस्ती देखिन्छु भनेर हेरें। मलाई आमाजस्तै राम्री देखिन  रमाइलो लाग्थ्यो। मलाई चाँडै हुर्किन मन लाग्थ्यो। किनभने हुर्किएकाहरूको एउटा बेग्लै दराज हुन्थ्यो। त्यो दराज कसैलाई पनि छुन दिन्न भनेर ध्वाँस देखाउन पाइन्थ्यो तर यो कुराले मलाई दस मिनेटमै वाक्क लगायो। त्यसमा भएको एउटा चिनियाँ माटोको प्लेटको टुक्राले मेरो ध्यान तान्यो। यो त्यही टुक्रा थियो, जसलाई मैले कयौं पटक देखेकी थिएँ तर कहिल्यै ध्यान दिएकी थिइन। आज अकस्मात् उक्त टुक्रा देख्दा मलाई आमाले भन्नुभएको कुरा सम्झना भयो। मैले त्यो बाकसबाट प्लेटको टुक्रा निकालें र दौडिँदै भान्सा पुगें। भान्सामा राखिएको त्यही फुटेको प्लेटसँग यसलाई जोडेँ। आमाले भन्नुभएको सही रहेछ। यो त्यही प्लेटको टुक्रा थियो, जुन प्लेट समात्न खोज्दा आमाले खसाल्नुभएको थियो र त्यसपछि उहाँहरूको प्रेम झाँगिएको थियो। कुरा बुझेपछि मलाई मेरी आमाप्रति अझ श्रद्धा जाग्यो। मैले त्यो अमूल्य टुक्रालाई जतनका साथ जसरी राखिएको थियो, त्यसैगरी बाकसमा हालें। मलाई थाहा भयो, आमाको चिनियाँ माटोका भाँडाप्रतिको मोह। आमाले सबै फुटेका सम्झनायोग्य प्लेटहरू सम्हालेर राख्नुभएको छ, तर बाबासँगको पहिलो भेटको त्यो टुक्रा मुटुमै सँगालेर राखेको मैले पाएँ-गहनाहरूको बीचमा ! सायद उहाँका लागि अरू गहनाभन्दा यही नै मूल्यवान् चीज थियो। अहिले पनि म उहाँहरूबीच अझै उत्तिकै गहिरो प्रेम देख्छु।
केही समयअघि हामी सबै जना भेला भएका बेला आमाले आफ्नो मृत्युपछि क-कसलाई कुन-कुन गहना दिनुहुन्छ भन्ने प्रसङ्ग उठ्यो। यद्यपि यो ठट्टामा उठेको कुरा थियो। मेरी ठूली बहिनीले रातो माणिकको औंठी आफूले मन पराएको बताई। कान्छी बहिनीले हजुरआमाले दिएको मोतीको झुम्कामा आफ्नो अधिकार हुने बताई। मैले केवल हाँसेर टारिदिएँ। त्यतिबेला मैले आफ्नो चाहनाको कुरा गरेको भए सबै जना हाँस्ने थिए। मलाई त त्यही प्लेटको टुक्रा चाहिन्छ। यसको मूल्य कि त मेरी आमालाई थाहा छ कि मलाई ! मेरा लागि त्यो प्लेटको टुक्रा एउटी साधारण महिलाको असाधारण प्रेमकथा हो। एउटा असाधारण प्रेमकथाको मूल्य कसैले तोक्न सक्ला त ?

बेट्टी बी योङ्स 

19 जुलाई 2013

गजल

                                                                       
                                    इन्द्रे पुन रुकुम

पहिले आफ्नै डाँडा र,पाखाका गजल लेख्छु। 
फेरी उजाद बस्ती र,भाकाका गजल लेख्छु।। 

रोपेनौं नी बगैचामा,फल्छत आँप कसरी? 
पढाउनुछ संस्कार,काखाका गजल लेख्छु। 

मिलेर पो के बन्दैन ? तर मिल्दैनौं कसरी? 
माहुरी बनाउँछ यी,चाकाका गजल लेख्छु। 

लुट्दैछ'रे आमालाई,किन चुप भयौं छोरा? 
मेरो देशको सिमा र, नाकाका गजल लेख्छु। 

नहेरी फैसला गर्छ, अन्धा किन कानुन छ ? 
खोलीनु पर्छ ति पट्टी, आँखाका गजल लेख्छु। 

रुँदा रुकुम दोल्पा र,कर्नाली भोको पेटले, 
सिँहदर्बार भित्र ति,डाँकाका गजल लेख्छु। 

याद राख ए काठ्मान्डौ,शहिद के भन्दै थिए? 
नत्र म युद्ध जुलुस,राँकाका गजल लेख्छु।। 

 
१५ बैशाष

2 जुलाई 2013

लुकाइएको नेपाली इतिहास :


लुकाइएको नेपाली इतिहास : 

By Jwajalapaa Sakasita on Friday, January 13, 2012 at 1:13am · 

प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भ हरु हरेक नेवारले पढनै पर्दछ | कृपया एक पल्ट पढ्नु होला | 

राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ | पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु | वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् | त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु | 

सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे | उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो | नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए | उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले | 

शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे | तर उनि सफल भएनन् | अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे | सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए | 

त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए |तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो | छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो | 

(अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए | तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए | न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे | काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे | तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे | 

(फेरी मूल पुस्तक बाटै): 
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वी नारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे | उनलाई दरवारको सबै कुना कुना देखाए | उनका राजकुमार राजकुमारीहरुलाइ पृथ्वी नारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे | यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन | 

पृथ्वी नारायण शाह स्मरण शक्तिमा तेज थिए | एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने | उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए | पाँच वर्ष पछी उनि आफ्नो गृह नगर गोरखा फर्किए | उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए | मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए | के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्श्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए | त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए | 

फर्केर गएपछि पृथ्वी नारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए | काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले | तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे | 

त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे | गोरखाली आक्रमण संधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो | मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो | त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ | तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न | यस्तो लुटमार गर्ने उद्देस्स्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो | 

तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए | अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए | त्यो भन्दा पनि एस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाइ नोक्सान पुगी राखेको थियो | मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए | 

तर पृथ्वी नारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो | उनले वास्तविक शान्ति चाहेका थिएनन | जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले | साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए | मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए | लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए | 

गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो | तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ | यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ | इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ | 

मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ | जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो | यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो | 

भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए | बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो | त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे | 

लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे | सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते | कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदा पानी उच्चस्तरीय हतियार सामु टिक्न सकेनन | त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए | 

हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे | आजसम्म पानी त्यो ठाउ "नाक नभएको मान्छेको गाँउ" भनेर परिचित छ | यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए | 

जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए | उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे | इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए | यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए | 

क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे | गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे | यो घटना "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर" भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ | यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे | 

बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले | एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए | राज्य बचाउने आशमा सम्बत १७६८मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए | त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए | 

जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् | जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन | रथमा सवार जयप्रकाश रथबाटै हाम फाले | उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटन तिर सकुशल भागे | 

अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए - "म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु" | 

मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए | हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए | निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन | 

त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे | ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन | त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए | भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो | तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो | 

तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो | अभाव सितै त्यहाँ दर्बार भित्र बेचैनी पनि बढ्दै थियो | त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए | गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके | जय प्रकाश मल्लले आत्म हत्या गरे | उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए | 

भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे | उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो | ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे | तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो - त्यहाँ सानो प्वाल थियो, जहा बाट दिनको एक कटौरा भात छिराउथ्यो | केहि दिन पछी त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो | 

पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे | उनले पृथ्वी नारायणलाई भनेका थिए - "नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन | त्यसैले तिनीहरु एकदम खतरनाक छन् | तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन | शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ | यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ |" 

तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो | नया निर्माण कार्य गर्न रोक लगाइयो | भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो | व्यापार ब्यबसायमा नियन्त्रण गरियो | सम्बत १७६७को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन | स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो | सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा मारियो | यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले | दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो | तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाकि रहेनन् र ती कुराहरु बिर्सन थाले | 

पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो | श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो | तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिलेइ फर्किएन | 

बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे | सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे | यसको असर समग्र मध्य एशियामा पर्यो | पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो | 

यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो | फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो | यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो | 

पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् | गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो | उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए | त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले | त्यस्तै आफुले जितेका क्षेत्रलाइ "निषेधित इलाका" मा परिणत गर्दै गए | उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन | तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले | 

बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् - "हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस |" 

लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् - "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |" 

यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो | गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो | 

गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो | तर दरबार भित्र भने शान्ति आएन | शाहहरु एक आपसमा भिड्न थाले | उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए | तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए | 

यस्तै घटनाक्रम संगै कोट पर्व भयो | यस पछाडी जंग बहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए | 

---- यस्पछादी के भयो आफै किताब खोजेर पढ्नु होला | 
Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr

(पूर्ण सुहाँङ सरको नो़ट बाट)

31 अगस्त 2012

के नेपालका शाह वंशीय राजाका सन्तानहरु “मगर” हुन?

के नेपालका शाह वंशीय राजाका सन्तानहरु “मगर” हुन?

 तलको लेख एक पटक पढ्नुहोस।

कुनै व्यक्तिलाई त्यो कुन समुदायको हो र कुन जातिको हो भन्ने कुरा उसको संस्कार-सांस्कृतिक र परम्परागत कुराहरुको अध्ययन गर्नु जरुरी ठहरिन्छ। भाषा र धर्म भन्ने कुरा एक पुस्ताबाट अर्को पुस्ता सम्म आइपुग्दा अभिवावकले सिकाई दिएन भने स्वत: लोप भएर जान्छ। तर परम्पतागत र सांस्कृतिक पक्ष भने पुस्तौ सम्म पनि लोप हुन गाह्रो पर्छ। मूल रुपमा भन्नु पर्दा कुनै पनि व्यक्ति वा वँशजको जातीय पहिचानको आधार सांस्कृतिक र संस्कार पक्ष नै हुन्छ। राजाका पुर्खा कुन जातिका थिए भन्ने ऐतिहासिक प्रमाणहरुले पनि स्पष्ट नै पारेको छ र यता सांस्कृतिक तथ्यलाई हेर्ने हो भने पनि त्यो झन घाम जस्तै छर्लङ्ग छ।

१) शाहहरुको कुलायन कुलदेवी स्याङ्जाको लसर्घाको “आलमदेवी” हुन। त्यहाँका पुजारी “राना मगर” हरु नै छन। यदि राजा हिन्दु वा राजपुत भएको भए, उसको कुलदेउताको पुजाआजा गर्ने व्यक्ति कहिले पनि “मगर” हुने थिएनन। जाबो केही वर्ष अघि “जनै” लगाएर नक्कली “क्षेत्री” बन्ने केही मगरहरुले त आफ्नै बन्धुहरुले दिएको नखाने कहलिन्छन भने राजा राजपुत भए, राजखलकको पुजारी त्यस माथि पनि “कुल पुजारी” मगर कसरी भए त?

२) नारायणहिटी दरबारमा सरकारी (राजकीय पुजारी बडा गुरुजी) ब्रह्माणहरु भए पनि परम्परागत कूल पुजारी त मगर नै छन, किन?

३) अहिले पनि राजकुलले कलंकीमा गर्ने कूल पुजामा “कालो सुँगुर” को बली चढाई पूजा गर्ने गर्दछन। यदि राजा हिन्दु एवं राजपुत भएको भए कहिल्यै सुँगुर पुजामा चढाउने थिएनन्। अर्को याद राख्नु पर्ने कुरा के छ भने भारतका कुन राजपुतले आफ्नो कुलायनको पुजामा “मगर” पुजारी बोलाउदो रहेछ? र, कुन राजपुतले सुँगुरले पुज्दो रहेछ? जुन ताजपुतको ब्राह्माणहरुले कुरा गर्ने गर्दछन्, ति राजपुतहरुले सुँगुर त के बँदेल पनि खाँदैनन्। सुंगुर नै नखाने कुलायनले सुँगुर नै खोज्छ भन्ने कुरा पनि कहिं सत्य हुन्छ?

४) शाहवँशका पहिलो व्यक्ति अर्थात भूपालले मगरकी छोरी नै बिहे गरेका थिए। त्यस्तै पृथ्वी नारायण शाहकी बज्यै पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी आमा पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी श्रीमती पनि मगरकी छोरी नै थिइन्। उतिखेरको कट्टर हिन्दु आर्य समाजमा एक हिन्दु आर्य-क्षेत्रीले मतवालीको छोरी मागी बिबाह गर्नु असम्भवको कुरा हो। यदि हिन्दु-आर्य राजा भए, मगरकी छोरी बिहे गर्नु सम्भवको कुरा हो र?

पृथ्वी नारायण शाह एवं दलमर्दन शाहकी आमा कौशल्यावती पाल्पाका राजा गन्धर्व सेनकी छोरी थिइन्। यति मात्रै होइन, पृथ्वी नारायण शाहले पनि मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनलाई बिबाह गरेका थिए।

५) मामाकी छोरी बिहे गर्ने र हकै लाग्ने मगरहरुमा हुने गर्दछ र यही चलन ठकुरीमा पनि हुने गर्दछ। यदि शाहहरु हिन्दु राजपुतको भए, कहिल्यै मामाको छोरी बिहे गर्ने थिएनन्। किन भने हिन्दु क्षेत्रीहरुको चलनचल्ति अनुसार मामाकी छोरी बहिनी पर्ने गर्छ र राजस्थानका कुन राजपुत घरनियाले मामाकी छोरी बिहे गर्ने गर्दो रहेछ? कुन हिन्दु क्षेत्रीले मामाको छोरीलाई साली भन्दो रहेछ?


६) मकवानपुरे राजाले छोरी दिन नमाने पछि पृथ्वी नारायण शाहले बनारस गई १०८ ब्राह्माणहरुलाई भोज खुवाएर जनै धारण गरेर, गोत्र नै फेरेर ‘वशिष्ट’ गोत्र भिरेर आएका थिए। राजखलक हिन्दु आर्य-क्षेत्री भइदिएको भए गोत्र नै फेर्नु पर्ने आवस्यकता नै के थियो र?

७) बि.सं. १९५१ मा शाहहरुको असली वंशावली जलेको कुरा “Eden Vancittart” ले आफ्नो पुस्तक “The Gurkha” मा उल्लेख गरेकाछन् र हुन सक्छ त्यसपछि ब्राह्माणहरुले नक्कली वंशावली तयार पारे कि? किनभने शाहहरुको वंशावलीमा उल्लेखित वंशजका नामहरु भारतीय इतिहासमा कुनै पाइएको छैन र उल्लेख गरिएको पनि छैन।

८) पृथ्वी नारायण शाहका छोरा बहादुर शाहका पालामा आएका Karkpatric ले यिनका भदैयाहरु अझ पनि मगर रितिरिवाजमा छन् भनेर लेखेका छन्। यसले स्पष्ट पार्छ कि, राजखलकका वंशहरु कुन जातिका हुन भनेर। F.B. Hamilton ले पनि मगरकै सन्तान हुन् अहिलेका राजाहरु भनी लेखेकाछन् र यि सवै कुराहरुको प्रत्यक्षदर्शी पनि थिए दुवै बिद्वानहरु।

९) प्रसिद्ध विद्वान एम.एस. थापा मगर त राजाका पुर्खाहरु स्याङ्जाको लसर्घा एवं कारिकोट कै मगरहरु हुनु पर्छ भनी बताउँछन्।

१०) त्यस्तै डा. हर्ष बहादुर बुढा मगर आफू राजदरबारमा कार्यरत रहँदा राजा महेन्द्रका स्व. राजगुरु अम्विका प्रसाद शर्मा सँग बर्तमान राजाका पुर्खाहरु ‘मगर’ होइनन् र? भनी प्रश्न गर्दा १५ दिनको समय मागि १५ दिन पछि राजाका पुर्खा ‘मगर’ वंशज कै हुन् तर यसमा यसमा मेरो नाम नमुछ्नु होला भनेर डा. हर्ष बहादुर बुढा मगरलाई भनेका थिए।

नोट: यो “मुसाहाङ झेडी मगर” द्वारा लिखित लेख र मेजन पुन द्वारा सम्पादित “फिमला सँगालो” बाट साभार गरिएको हो।

कम्प्युटर रिटाइप: देवेन्द्र पुन, काफलडाँडा, म्याग्दी

2 अक्तूबर 2011

       गजल

                                            इन्द्रे पुन रुकुम

  गोर्खालीको बहादुरी ताज गलेको देखेनौं ।
स्वाभिमानी यो नेपाली शिर ढलेको देखेनौं।।


लड्छौं ब्यर्थ आपसमा म नै जान्ने हुँ भनी,
 आगो भित्र दन्दनी देश पो जलेको देखेनौं।


प्राणभुमीको  यो माटो कती हरायो लौ हेरौं,
 बैरीले हो आफ्नत बनेर छलेको देखेनौं।।


 सागरमाथामा तिरंगा फहराउन खोज्छ हो,
स्वाधिन्तामा  पो आँधी भेरी चलेको देखेनौं।।


समयले कोल्टे फेर्दा बीर कैले बिउँजेनौं,
रात पश्चात यत्रो सुरज बलेको देखेनौ।।


पौष २४-२०६७

15 सितंबर 2011


सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-९

तीन सल्लाह

छोरी,

धेरै लामो समयपछि सोच्दै नसोचेको ठाउँमा एउटा पुरानो साथीसँग भेट भयो तिमीलाई थाहा छ,  यस्तो भेटघाटमा छोराछोरीबारे आपसी सोधपुछले निकै महत्त्व पाउँछ । यस्तै सोधपुछका क्रममा उसले आफ्ना केही गुनासा पोखिसकेपछि अलिकति गम्भीर जस्तो भएर मलाई सोध्यो,  "छोराछोरीलाई कुनै तीन वटा ठोस सल्लाह दिनुपर्‍यो वा आग्रह गर्नुपर्‍यो भने तिमी के के भन्छौ?"
कुनै र्फमुलामा बाँधिन नचाहने र कुनै त्यस्तो सूत्र अनुसार चल्न नसक्ने म जस्तो मानिसका निम्ति उसको प्रश्नको उत्तर 'हाजिर-जवाफ' को शैलीमा दिन सम्भव थिएन । तर उसले भने मुसुमुसु हाँसेर आग्रह गरी नै रहृयो । त्यतिखेर, त्यो क्षणमा मेरो मनमा आएका तीन कुराहरू मैले आखिरमा भन्नै पर्‍यो । निकैबेरसम्म हामी त्यसबारे गफगाफ गरिरहृयौँ । आज म तिनै कुराहरू तिमीलाई लेखिरहेको छु ।
मैले जिन्दगीमा गर्नैपर्ने, गर्न सक्ने र गर्ने प्रशस्त अवसर पाएको, तर कहिल्यै पनि राम्रोसँग गर्न नसकेका कुराको ज्यादै लामो सूची छ । तीमध्ये, त्यो मेरो साथीसँग कुराकानीका क्रममा निस्केका तीन कुराहरू चाहिँ यी हुन्-

१. महाकालको पूजा जो मैले गर्न सकिनँ
२.बुद्धबाणीमा ध्यान जसमा म अडिरहन सकिनँ
३पार्थिव जीवनका कर्महरू जसलाई मैले राम्ररी सम्पादन गर्न सकिनँ
यिनै तीन कुराहरू हुन् जो मेरा छोराछोरीले, नयाँ पुस्ताले राम्रोसँग गरिदिएहुन्थ्यो जस्तो लाग्छ ।
महाकालको पूजा भनेको राजधानीको टुँडिखेलको छेउमा रहेको मन्दिरमा धाउनु मात्र हैन । घण्टा, मिनेट, सेकेण्ड वा वर्ष शताब्दी, सहस्राब्दी आदि युनिटमा टुक्रिएर महाकालले समयको रुप लिन्छ र त्यसले परिवर्तनको कहिल्यै नटुङ्गिने सिलसिला चलाइरहन्छ, दुनियाँ घुमाइरहन्छ । महाकालको पूजा गर्नुको अर्थ हो समयको सही व्यवस्थापन अर्थात् 'टाइम-म्यानेजमेन्ट' । मैले कहिल्यै पनि राम्ररी 'टाइम म्यानेजमेन्ट' गर्न सकिनँ । अब आफ्नो बाँकी आयुमा समयको त्यो व्यवस्थापन गर्न, महाकालको त्यो पूजा गर्न र श्रापमुक्त हुन चाहन्छु । मेरा छोराछोरीहरू, नयाँ पुस्ताका ती सबै प्याराप्यारा मानिसहरू महाकालको यो पूजालाई राम्रोसँग सम्पन्न गरिरहुन् भन्ने म चाहन्छु । यही हो मेरो कुरा नम्बर एक ।
अब बुद्धवाणीको कुरा ! हामीले साथीहरू, आमाबाबु, छोराछोरी वा अरू कसैसँग वा एक्लै भएको बेला आफैँसँग कुरा गर्दा बेलाबेलामा मनमा अति सुन्दर विचारहरू आउँछन् । कुनैबेला अनौठोसँग स्वीकारोक्ति हुन्छ- आफ्नै कमजोरी र सीमाहरूबारे । कुनै बेला नयाँ ज्ञानको बत्ती बलेजस्तो हुन्छ..., तर त्यो आफूभित्र रहँदैन- सलल्ल बगेर, चिप्लेर जान्छ, हावामा हराउँछ । हो कि हैन, भन त छोरी ! हाम्रो मनमा आउने त्यस्ता सबै सुन्दर र पवित्र विचारहरूलाई समातेर राख्न सके कति राम्रो हुँदो हो ! सामाजिक उत्तरदायित्वहरू पूरा गर्न चाहने, अरूलाई समेत शक्तिकृत हुन सघाउने मानिसले आफ्नै मनमा झल्याकझुलुक उदाउने असल कुरा वा विचारहरूलाई आफैँभित्र अलिबेर राख्न नसके, आफैँ नै त्यो बुद्धवाणीमा ध्यानमग्न हुन नसके अरूलाई कसरी त्यो वाणी सुनाउने - त्यसैले, मनमा आएका सबै राम्रा कुराहरूलाई टिपेर राख्ने, तिनलाई आफ्नो मार्ग-निर्देशकका रूपमा विकास गर्ने र मूर्त रूपमा कार्यान्वयन गर्नसके हुन्थ्यो जस्तो लाग्छ- म आफैँले पनि र नयाँ पुस्ताले पनि ।
पार्थिव शरीर हो हाम्रो । बाँच्नलाई विभिन्न गतिविधिमा लाग्नै पर्छ, अर्थात् कर्म त गर्नैपर्छ । कुनै पनि हिसाबले हिंसा, परपीडा नहुने गरी आफ्ना भौतिक जीवनका हरेक पक्षहरूको ख्याल राखेर नै बाँच्ने हो मानिसले । यसरी बाँच्दा विभिन्न पक्षहरूबीचको सन्तुलनको अत्यन्त ठूलो भूमिका रहन्छ । तर बेलाबेलामा आफूभित्रको अल्छीपन कहिले उदारता, कहिले आध्यात्मिकता, कहिले दया र कहिले केका रूपमा विभिन्न मुकुण्डो लगाएर देखापर्छ र जिन्दगीको सन्तुलन बिगार्छ । मेरो जीवनको ठूलो हिस्सा यही अल्छीपनले निलेको छ । मुक्त हुन चाहन्छु म आफैँ पनि त्यो अल्छीपनबाट । र, आफैँभित्रको अल्छीपन अनेक निहुँ पारेर देखापर्दा त्यसलाई चिन्न र त्यसको प्रतिकार गर्न सक्षम हुन सकून् नयाँ पुस्ताका मानिसहरू भन्ने कामना गर्छु बस, यिनै तीन कुराहरू आए मेरो मनमा- जब त्यो पुरानो साथीले मसँग प्रश्न गर्‍यो ।
केहीबेर फेरि यताउताका गफ गरेपछि आ-आफ्नो घर फर्किन हामी बिदा भयौँ । अलि पर पुगेपछि ऊ पनि म पनि फर्केर एकअर्कालाई हेर्‍यौँ । हाँस्दै ऊ मतिर आयो, म पनि उतिर बढेँ । उसले भन्यो, तिमीले भनेका तीन कुराहरूमा केही नपुगेजस्तो छ । के हो त्यो, भन त ।
वास्तवमा मलाई पनि त्यस्तै लागिरहेको थियो । तर कुम हल्लाएर "खै !" भन्दै हामी फेरि आ-आफ्नो बाटो लाग्यौँ । तर यतिखेर मलाई लाग्दैछ- हाम्रो गफगाफमा नपुगेको त्यो कुरा शायद जीवनको उद्देश्य, जीवनको 'मिसन' थियो । "म किन बाँचिरहेको छु, केका निम्ति बाँचिरहेको छु - जीवनको अन्त्यसम्ममा मैले सम्पन्न गर्नुपर्ने कुरा के हो - म पुग्नुपर्ने गन्तव्य के हो -" जस्ता प्रश्नहरूको उत्तरले नै हरेक व्यक्तिको आफ्नो मिसन परिभाषित गर्ने हो । जुन व्यक्ति आफ्नो जीवनको 'मिसन'बारे स्पष्ट छ, उसले आफ्नो जीवनरुपी यानलाई आफ्नो मर्जीले अघि बढाउन सक्छ । उसको मिसन ठीक थियो कि बेठीक थियो, त्यो त फेरि महाकालकै निर्णय इतिहासकै फैसला हो । तर पनि, जो मानिस महाकालको पूजा साँच्चै तनमनले गर्छ, जो बुद्धवाणीमा ध्यानस्थ हुनसक्छ, जो रमाईरमाई आफ्नो कर्म गर्छ, उसको मिसन, उसको गन्तव्य कसरी बेठीक हुन सक्ला र !

"यसपालि त बुबाले भाषणै दियो बा !" भनेर नभन है !

                                                                                      माया गर्ने बुबा

( साभारः  हिमाल खबर डट कम बाट )

21 अगस्त 2011

देशको लागि रुनु भा छ ?

( लेखक: बान व्हिइ मिन१५ बर्षिय बिद्यार्थी हानकुक बैदेशिक शिक्षा एकेडेमी,दक्षिण कोरिया )
( नेपालीमा अनुवाद: उज्वल थापा र बिजय सिवाकोटी )

नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाईले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक- अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ । सर्वप्रथम त म मेरो देश कोरियाको बारेमा केही भन्न चाहन्छु जसले गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न सजिलो हुन्छ । झण्डै साठी बर्ष अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख भन्दा बढी कोरियालीहरु मारिए र कोरिया बिश्वको सबैभन्दा गरिब मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन अवस्थामा गुज्रिरहेको थियो । त्यसमाथि सरकारी कर्मचारीहरु एक नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन- प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई दर्जामा बिभाजित थियौं याङबान (माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) । त्यति बेला कोरियालीहरु जापान, ताईवान, नेपाललाई हेरेर ईर्स्या गर्थे। हामी बाँच्नको लागि जे गर्ने पनि तयार थियौं । यस्तो कठोर समयमा कोरियालीहरुले अब हामी समृद्ध हुनुपर्छ भनेर समाजको यो विभाजनहरु त्यागेर देशलाई अग्रगांमी बिकास तर्फ धकेल्न
कोशिश गरे । जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए । त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानहरु। उनीहरुले कमाएर पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो। १९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे, त्यहाँका कोईलाखानीमा काम गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे, “हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“ उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए, “कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ” यसरी अमेरिकामा बसी आएका धेरै कोरियन वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर, “कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”। अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै काममा अगाडि लागिरहे। हरु उनीहरुले आफ्नोलागि मात्र होइन, देश आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु- आमाका जमानाका कोरियनहरु सबैले आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे । दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु आफ्नो बच्चालाई दुध खुवाउँदै कल- कारखानामा काम गर्थे । आफ्ना बच्चालाई कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ सिकाउँथे । यसैको ज्वलन्त परिणाम अहिलेको समृद्ध कोरिया हेर्नुहोस् । नेपाली हो, के तपाईंहरुले आफ्नो देशको लागि रुनुभएको छ ? मैले त सुनेको छु नेपाली युवाहरुमा देशप्रति माया नै छैन। मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट सधैँको लागि छोडेर जान चाहन्छन् किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन या यहाँको गरिबीबाट भाग्न चाहन्छन्, या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश कि आफै अगाडि लम्केर देशको सेवा गर्नु। मेरो एउटा सपना छ, म कुनै दिन पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी, भोकमरी, जड चलनबाट मुक्ति दिनेछु। नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर, मेरो यो बिश्वास झन बलियो बनेको छ। जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र स्कुल जाने अवसर पाउँदैन। जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा। यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल- बच्चाको हेरबिचार मात्र होइन, खेतमा दिनभरि काम गर्नु पर्छ जब कि उता उनका श्रीमान् चाहिँ केही नगरी चाहारेर हिंडछन्, यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक आफ्नो पेट पाल्न ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ । नेपालको बास्तबिकता हेर्दा त मलाई कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु धर्मावलम्बी हुनुहुन्छ । तर तपाईंका करोडौं भगवानहरुलाई जति पुजे पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु। नेपाल र तपाईंको भविश्य सुनिश्चित गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु नै हो । तपाईंले जसरी भगवानप्रति माया र भक्ति देखाउनु हुन्छ, त्यसरी नै आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस् अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र समृद्धिमा लाग्नुहुन्छ । त्यसैले बिन्ती गर्छु, आफ्नो देश र छिमेकीलाई माया गर्न थाल्नुहोस् । आफ्नो बच्चालाई देशको माया गर्न सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र आखिर ? तपाँई नै! यी बिशाल हिमालयको अन्तरआत्मालाई आदर गर्ने अनि विश्वकै एकमात्र किसिमको झण्डालाई बोक्ने को हुन्छ त आखिर ? तपाईंले नै बोक्नु पर्छ नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी। तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।
नेपालको जय होस्

18 मई 2011

पन्ध्र मिनेटको भावविभोरता र एउटा यक्षप्रश्‍नको उत्तर

डा. दीपक खडका/ न्यू जर्सी, सं. रा. अ.
चार वर्ष अगाडि एउटा कोरियाली किशोरले नेपालीलाई सम्बोधन गरेर लेखेको “के तिमी कहिल्यै देशको निम्ति रोएका छौ?” भन्ने लेख (‘द काठमान्डु पोस्ट’, सेप्टेम्बर १०, २००५) पढेपछि मेरो आफ्नै देशप्रेमप्रतिको विश्वास नराम्ररी डगमगाएको थियो । देशप्रेमै प्रतिको विश्‍वास त नभनौं, तर त्यस प्रेमको पर्याप्तता, गहिराई र सार्थकतामाथिको मेरो विश्‍वास भने उठ्यो भने हुन्छ ।
मैले म देशको लागि कहिले रोएँ भनेर सम्झन खोजें, तर अहँ कुनै अवसर पनि सम्झनामा आएन । म नरोएको भने होईन । तर मैले रोएको कि त कुनै व्यक्ति विशेषको दु:खमा कि त कुनै राजनैतिक आस्थाविशेषको निम्ति थियो । त्यसलाई देशप्रेमको नाम दिन नसकिने होईन । तर म व्यक्ति वा आस्थामा सीमित भएको माया होईन, समग्र देशलाई छपक्कै ढाकेको माया, त्यो पनि त्यो कोरीयाली ठिटोले बयान गरेको जस्तो आँसुले निथ्रुक्क भिजेको मायाको खोजीमा थिएँ ।

देश अर्थात् यसको हालत, यसको गरीबी र यसको पछौटेपनाले मुटु टुक्रा टुक्रा हुने गरी, यसको दूर्दशाले मुटुमा भक्कानो आउने गरी, यसको निरासलाग्दो भविष्य देखेर भाउन्न हुने गरी, छिमेकी देशहरु भन्दा पछाडि पछाडि पर्दै गएको देखी सासै फेर्न गाह्रो हुने सकसको साथ, दुनियाँमा हाम्रा बेईजतीपूर्ण परिचय बढ्दै गएर र हाम्रो ईज्जत कम हुन थालेको देखेपछि भयले शिताङ्ग र ईखले ज्वरो आउने गरी र आखिर दृढ मनसुबा र प्रतिज्ञाका आगोमा खहरिएको र हरेक सानो सफलता, हरेक असफलता, हरेक कोशिसलाई हर्ष र विस्मातको आँसुले भिजाईएको माया । हो, त्यस्तो माया ।
त्यस्तो माया पाईनँ मैले । न त ममा । न कुनै स्वजन नेपालीमा ।
त्यो कोरियाली ठिटोको त्यो प्रश्‍न, त्यो हाँक, त्यो मानमर्दन भने पनि, मार्गदर्शन भनेपनि, बेलाबेलामा मेरो सोचाईमा आईरहन्छ, र मलाई त्यसले हामी नेपालीलाई सामुहिक रुपमा अयोग्य जाती पो हौं कि भनेर झसंग झसंग पारिरहन्छ ।
म नेपालीहरु देशको लागि रोएको हेर्न र देशप्रेमको प्रमाण पाउन सदैव यताउति हेरिरहन्छु । तर अहिलेसम्म मैले पाएको भनेको एकअर्काप्रति अविश्‍वास र घृणा अनि त्यही अविश्‍वास र घृणामा बगेको आँसु हो । स्वजनप्रतिको हाम्रो घृणा कति धेरै छ भने छिमेकीले हाम्रो सिमाना मिच्यो भन्ने समाचारले रिस उठेको बेलामा पनि त्यो रिसले हामीमा एकताको पादुर्भाव गर्दैन, बरु त्यो रिस हामी — हाम्रो कस्तो बिजोग — आफ्नै कुनै विमतको स्वजनमा पोख्छौं र भन्छौ – तँ परचक्री प्रभुको दास होस् !
देशप्रेम खोजीको मेरो यात्रा हिउँको थुप्रोमा आगोको फिलिंगो खोजेको जस्तै भएर रहेको छ । त्यो गएको चार महिना अघि सम्मको कुरा भन्नुपर्‍यो ।
चार महिना अघि (जुलाई ३, २००९) सान फ्रान्सिस्कोमा भएको ‘एसोसियसन अफ नेपालीज ईन अमेरिकाज’ को सम्मेलनमा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को साहित्यिक सभामा एउटा किशोरले मेरो विश्‍वासमा परेको भ्वाङ टालिदिए । चमत्कारै भयो । हुन त त्यो पछि केही भत्कियो पुन: । त्यसको कथा छुट्टै छ । तर जतिञ्जेल त्यो रह्यो र जसरी त्यो रह्यो, मलाई लाग्यो, मैले खोजेको भेटें । मैले देशप्रेमको प्रमाण पाएँ ।
हो, त्यो देशको निम्ति बगेको आँसुको कथा थियो ।
भयो के भने, एक किशोर कविले यस्तो कविता सुनाए, देशको दूर्दशा र सम्भावित विघटनको बारे, त्यहा उपस्थित सबैलाई भावविभोर बनाईदिए । मेरो आँखामा पनि आँसु आयो । र मैले देखेका सबैको आँखा रसिला वा करीब करीब रसिला थिए । सामान्यतया अनियन्त्रित हल्लाखल्ला बिच चल्ने अमेरिकाको नेपाली कवितावाचन त्यो क्षण भने सियो खस्दा पनि सुनिने मौनता र अपूर्व एकाग्रता बिच अघि बढिरहेको थियो । भनें नि, पुरै कक्ष भावविभोर भएको थियो ।

म त चरम भावातिरेकमा थिएँ । कविताले भन्दा पनि त्यसको प्रभावको प्रभावले र खास गरेर चार वर्षदेखिको अनपेक्षित तर खोजी जारी रहेको कुरा भेटेकोमा । मेरो कोरियाली ठिटोको यक्षप्रश्‍नको उत्तर पाएकोमा ।
ती प्रतिभाशाली किशोरकविले शार्दूलविक्रीडित छन्दमा “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” भनेर विलौना गर्दा हामी सबै रोयौं । यो विशुद्ध देशकै, विशुद्ध मायाको, शुद्ध आँसुको एउटा शुद्ध क्षण थियो । यो कोरियाली यक्ष-प्रश्‍नको नेपाली उत्तर थियो ।
जब मेरो पाली आयो कवितावाचन गर्ने, मैले म त्यस क्षण के र कस्तो अनुभूति गरिरहेको छु भन्ने कुरा बताउदै ती किशोर कविप्रति एक विशेष सम्मान अभिव्यक्तिको हेतु र मैले तत्क्षण अनुभूति गरिरहेको अपूर्व आनन्दको निरन्तरतामा अझै रहिरहन भनेर क्षमायाचना सहित आफ्नो कविता नै नसुनाई हिडें ।
यस्तो भयो कि त्यो कसैलाई असहज लागेन । संगैका सहकविले भन्नुभयो, “बडो उचित प्रतिक्रिया !”
र यसरी सदर पाएपछि म त्यो अतिरेकलाई निरन्तर अनुभव गरिरहें, अन्य अनेक कविताहरुको वाचन बीचमा पनि, जबसम्म ती किशोर कविले फेरि एउटा बेग्लै कविता सुनाएनन् ।
*** *** ***
उनको दोश्रो कविता जसमा गाउँको कुनै भाग्यमानी सम्पन्न पात्रलाई खलनायकको रुपमा चित्रण गरिएको थियो — एउटा गोठालोको चित्रण गर्ने क्रममा — ले मलाई डंग्रैङ्गै पछारिदियो भुँईमा । मेरो अघिको भावातिरेकको एउटा खल्लो स्खलन अनुभव गरें मैले ।
कार्यक्रमको समापनपछि ती किशोर कविसंग संक्षिप्त कुराकानी गर्ने अवसर पाएँ । दोश्रो कविताको बारेमा जिज्ञासा राख्दा उनले जे शब्द उच्चारण गरे त्यो पर्याप्त थियो हामी कुन धरातलमा थियौं भन्ने स्पष्ट हुन । त्यो शब्द थियो – ‘वर्गसंघर्ष’ ।
त्यस अघि म उनीलाई दुनियाँलाई शोषक र शोषित वर्गमा विभाजित गरेर हेर्ने दृष्टि त्रुटीपूर्ण छ, त्यस्तो त्रुटीपूर्ण राजनीतिक दीक्षा लिनबाट र कसैको वैचारिक दास बनिहाल्नबाट जोगिनुहोस्, सोचलाई स्वतन्त्र राख्‍नुहोस्, तपाईको अगाडि सारा जीवन बाँकी छ दुनियाँलाई बुझ्न, आदि ईत्यादि मन्त्रणा गर्दै थिएँ ।
‘वर्गसंघर्ष’ लाई उनी यसरी उच्चारण गरिरहेका थिए, मानौ त्यो अन्तिम यथार्थ हो । मलाई कुरो बुझ्न समय लागेन ।
अनि अलिकति गम्भीर बहसै गर्नुपर्ने लाग्यो र मैले तत्काल जेजति सोच्न भ्याएँ त्यसैलाई उपयोग गर्दै भने, “हेर्नुस भाई, तपाईले जुन पात्रलाई — एउटा गाउँको गोठालो राख्‍न सक्ने सम्म हैसियतको ठालुलाई — खलनायक र समस्याको जड जस्तो देखाउनुभयो नि, त्यसलाई अलि फराकिलो दृष्टिले हेर्नुस्त । त्यो ठालु कुनै अफिसको खरदार होला । त्यहाँ त उ शोषित भयो । र उसको हाकिम चाही शोषक । फेरि त्यो हाकिम उ माथिको हाकिमको हिसाबले शोषित भयो । त्यहाँ भन्दा पनि माथि अवलोकन गर्दै जानुभयो भने अर्को शोषक देखिन्छ र अघिको शोषक चाहि शोषित हुनपुग्छ । बुझ्नुभयो ?”
यसपछि भने उनमा केही अलमल उत्पन्न भएको आभास भयो मलाई र म चाही मेरो काम सकिएको अनुभव गरी उनलाई निरन्तर साहित्य सिर्जनाको लागि शुभकामना दिएर हिंडें ।
यो मिश्रित घटना र अनुभवको वावजुद उनको “चिन्ता लाग्छ, विरक्त जाग्दछ मनमा, टुक्रन्छ कि देश यो” कविता त्यस सभाकक्षमा, अनि हाम्रो हृदयमा र आँतमा गुन्जिरहेको अवधीभर, हामीभित्र केही उम्लिन थालेको अनुभव भईरहँदा, हाम्रो आँखा रसाईरहेको पवित्र क्षणमा र कक्षमा हामी सबलाई आपसको न्यानो मौन स्पर्श र जोडाईमा बाँधिदिने मौनता छाईरहुञ्जेल म हामी नेपाली भएकोमा अपूर्व शान्ति र आनन्द अनुभव गरिरहेको थिएँ, र एउटा कोरीयाली किशोरले डगमगाईदिएको विश्‍वासलाई अर्को नेपाली किशोरको सिर्जन सामाग्रीले मर्मत गर्दै थिएँ ।
यो मर्मत अपूर्ण छ । यो एक खेप र अलिकता मात्र हुन सकेको छ । तर कसोकसो मलाई भय र आसा दुबै एकै चोटी लाग्न थालेको छ, सम्भवत: एक भीषण दु:ख पछि हामी देशलाई माया गर्न थाल्नेछौं, देशको निम्ति रुन जान्नेछौं । सम्पर्क: deepakkhadka@gmail.com
(साभार- माई संसार डट.कम.बाट)

30 अप्रैल 2011

महान समय

नभन हार्छ,   महान समय ।
वैलाई झार्छ, महान समय।।

जजस्ले सोच्छ,खेलौना जीबन
बिचल्ली पार्छ, महान समय।

उद्यस्य बिना,जो पनी जिउँछ,
कुल्चेर छार्छ, महान समय।

कुर्नेले भाग्य, नरोपी पसिना,
ज्यूदोनै मार्छ, महान समय।

चिन्नेलै तर,प्रत्यक यो क्षण,
मोटी झै खार्छ,महान समय।।