15 सितंबर 2011


सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-९

तीन सल्लाह

छोरी,

धेरै लामो समयपछि सोच्दै नसोचेको ठाउँमा एउटा पुरानो साथीसँग भेट भयो तिमीलाई थाहा छ,  यस्तो भेटघाटमा छोराछोरीबारे आपसी सोधपुछले निकै महत्त्व पाउँछ । यस्तै सोधपुछका क्रममा उसले आफ्ना केही गुनासा पोखिसकेपछि अलिकति गम्भीर जस्तो भएर मलाई सोध्यो,  "छोराछोरीलाई कुनै तीन वटा ठोस सल्लाह दिनुपर्‍यो वा आग्रह गर्नुपर्‍यो भने तिमी के के भन्छौ?"
कुनै र्फमुलामा बाँधिन नचाहने र कुनै त्यस्तो सूत्र अनुसार चल्न नसक्ने म जस्तो मानिसका निम्ति उसको प्रश्नको उत्तर 'हाजिर-जवाफ' को शैलीमा दिन सम्भव थिएन । तर उसले भने मुसुमुसु हाँसेर आग्रह गरी नै रहृयो । त्यतिखेर, त्यो क्षणमा मेरो मनमा आएका तीन कुराहरू मैले आखिरमा भन्नै पर्‍यो । निकैबेरसम्म हामी त्यसबारे गफगाफ गरिरहृयौँ । आज म तिनै कुराहरू तिमीलाई लेखिरहेको छु ।
मैले जिन्दगीमा गर्नैपर्ने, गर्न सक्ने र गर्ने प्रशस्त अवसर पाएको, तर कहिल्यै पनि राम्रोसँग गर्न नसकेका कुराको ज्यादै लामो सूची छ । तीमध्ये, त्यो मेरो साथीसँग कुराकानीका क्रममा निस्केका तीन कुराहरू चाहिँ यी हुन्-

१. महाकालको पूजा जो मैले गर्न सकिनँ
२.बुद्धबाणीमा ध्यान जसमा म अडिरहन सकिनँ
३पार्थिव जीवनका कर्महरू जसलाई मैले राम्ररी सम्पादन गर्न सकिनँ
यिनै तीन कुराहरू हुन् जो मेरा छोराछोरीले, नयाँ पुस्ताले राम्रोसँग गरिदिएहुन्थ्यो जस्तो लाग्छ ।
महाकालको पूजा भनेको राजधानीको टुँडिखेलको छेउमा रहेको मन्दिरमा धाउनु मात्र हैन । घण्टा, मिनेट, सेकेण्ड वा वर्ष शताब्दी, सहस्राब्दी आदि युनिटमा टुक्रिएर महाकालले समयको रुप लिन्छ र त्यसले परिवर्तनको कहिल्यै नटुङ्गिने सिलसिला चलाइरहन्छ, दुनियाँ घुमाइरहन्छ । महाकालको पूजा गर्नुको अर्थ हो समयको सही व्यवस्थापन अर्थात् 'टाइम-म्यानेजमेन्ट' । मैले कहिल्यै पनि राम्ररी 'टाइम म्यानेजमेन्ट' गर्न सकिनँ । अब आफ्नो बाँकी आयुमा समयको त्यो व्यवस्थापन गर्न, महाकालको त्यो पूजा गर्न र श्रापमुक्त हुन चाहन्छु । मेरा छोराछोरीहरू, नयाँ पुस्ताका ती सबै प्याराप्यारा मानिसहरू महाकालको यो पूजालाई राम्रोसँग सम्पन्न गरिरहुन् भन्ने म चाहन्छु । यही हो मेरो कुरा नम्बर एक ।
अब बुद्धवाणीको कुरा ! हामीले साथीहरू, आमाबाबु, छोराछोरी वा अरू कसैसँग वा एक्लै भएको बेला आफैँसँग कुरा गर्दा बेलाबेलामा मनमा अति सुन्दर विचारहरू आउँछन् । कुनैबेला अनौठोसँग स्वीकारोक्ति हुन्छ- आफ्नै कमजोरी र सीमाहरूबारे । कुनै बेला नयाँ ज्ञानको बत्ती बलेजस्तो हुन्छ..., तर त्यो आफूभित्र रहँदैन- सलल्ल बगेर, चिप्लेर जान्छ, हावामा हराउँछ । हो कि हैन, भन त छोरी ! हाम्रो मनमा आउने त्यस्ता सबै सुन्दर र पवित्र विचारहरूलाई समातेर राख्न सके कति राम्रो हुँदो हो ! सामाजिक उत्तरदायित्वहरू पूरा गर्न चाहने, अरूलाई समेत शक्तिकृत हुन सघाउने मानिसले आफ्नै मनमा झल्याकझुलुक उदाउने असल कुरा वा विचारहरूलाई आफैँभित्र अलिबेर राख्न नसके, आफैँ नै त्यो बुद्धवाणीमा ध्यानमग्न हुन नसके अरूलाई कसरी त्यो वाणी सुनाउने - त्यसैले, मनमा आएका सबै राम्रा कुराहरूलाई टिपेर राख्ने, तिनलाई आफ्नो मार्ग-निर्देशकका रूपमा विकास गर्ने र मूर्त रूपमा कार्यान्वयन गर्नसके हुन्थ्यो जस्तो लाग्छ- म आफैँले पनि र नयाँ पुस्ताले पनि ।
पार्थिव शरीर हो हाम्रो । बाँच्नलाई विभिन्न गतिविधिमा लाग्नै पर्छ, अर्थात् कर्म त गर्नैपर्छ । कुनै पनि हिसाबले हिंसा, परपीडा नहुने गरी आफ्ना भौतिक जीवनका हरेक पक्षहरूको ख्याल राखेर नै बाँच्ने हो मानिसले । यसरी बाँच्दा विभिन्न पक्षहरूबीचको सन्तुलनको अत्यन्त ठूलो भूमिका रहन्छ । तर बेलाबेलामा आफूभित्रको अल्छीपन कहिले उदारता, कहिले आध्यात्मिकता, कहिले दया र कहिले केका रूपमा विभिन्न मुकुण्डो लगाएर देखापर्छ र जिन्दगीको सन्तुलन बिगार्छ । मेरो जीवनको ठूलो हिस्सा यही अल्छीपनले निलेको छ । मुक्त हुन चाहन्छु म आफैँ पनि त्यो अल्छीपनबाट । र, आफैँभित्रको अल्छीपन अनेक निहुँ पारेर देखापर्दा त्यसलाई चिन्न र त्यसको प्रतिकार गर्न सक्षम हुन सकून् नयाँ पुस्ताका मानिसहरू भन्ने कामना गर्छु बस, यिनै तीन कुराहरू आए मेरो मनमा- जब त्यो पुरानो साथीले मसँग प्रश्न गर्‍यो ।
केहीबेर फेरि यताउताका गफ गरेपछि आ-आफ्नो घर फर्किन हामी बिदा भयौँ । अलि पर पुगेपछि ऊ पनि म पनि फर्केर एकअर्कालाई हेर्‍यौँ । हाँस्दै ऊ मतिर आयो, म पनि उतिर बढेँ । उसले भन्यो, तिमीले भनेका तीन कुराहरूमा केही नपुगेजस्तो छ । के हो त्यो, भन त ।
वास्तवमा मलाई पनि त्यस्तै लागिरहेको थियो । तर कुम हल्लाएर "खै !" भन्दै हामी फेरि आ-आफ्नो बाटो लाग्यौँ । तर यतिखेर मलाई लाग्दैछ- हाम्रो गफगाफमा नपुगेको त्यो कुरा शायद जीवनको उद्देश्य, जीवनको 'मिसन' थियो । "म किन बाँचिरहेको छु, केका निम्ति बाँचिरहेको छु - जीवनको अन्त्यसम्ममा मैले सम्पन्न गर्नुपर्ने कुरा के हो - म पुग्नुपर्ने गन्तव्य के हो -" जस्ता प्रश्नहरूको उत्तरले नै हरेक व्यक्तिको आफ्नो मिसन परिभाषित गर्ने हो । जुन व्यक्ति आफ्नो जीवनको 'मिसन'बारे स्पष्ट छ, उसले आफ्नो जीवनरुपी यानलाई आफ्नो मर्जीले अघि बढाउन सक्छ । उसको मिसन ठीक थियो कि बेठीक थियो, त्यो त फेरि महाकालकै निर्णय इतिहासकै फैसला हो । तर पनि, जो मानिस महाकालको पूजा साँच्चै तनमनले गर्छ, जो बुद्धवाणीमा ध्यानस्थ हुनसक्छ, जो रमाईरमाई आफ्नो कर्म गर्छ, उसको मिसन, उसको गन्तव्य कसरी बेठीक हुन सक्ला र !

"यसपालि त बुबाले भाषणै दियो बा !" भनेर नभन है !

                                                                                      माया गर्ने बुबा

( साभारः  हिमाल खबर डट कम बाट )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें